काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) ले काठमाडौँमा पार्टीको महाधिवेशन गर्ने औपचारिक निर्णय गरेको छ।
काठमाडौँमा शनिबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले २६‚ २७ र २८ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
अध्यक्ष लिङ्देनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने, १५ देखि २४ असोजसम्म सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष लिङ्देनले जानकारी दिए। बैठकले निर्वाचनको परिणाम र पार्टीभित्रका केही गतिविधिका कारण बिचलित नहुन नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।
वर्तमान सरकारले जेन-जी आन्दोलनको प्रमुख माग रहेको शासकीय जवाफदेहिता, पारदर्शिता र सुशासनलाई धेरै हदसम्म बेवास्ता गर्दै विगतका सरकारहरूकै शैलीमा र कतिपय मुद्दामा अझ अपरिपक्व ढंगबाट शासन सञ्चालन गर्न खोजेको हो कि भन्ने आशंका पार्टीको रहेको उनले बताए।
उनले संसद्को रोस्ट्रममा उभिएर ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति दु:ख व्यक्त गर्दै देशको सीमाजस्तो संवेदनशील विषयमा सरकार प्रमुखबाट अभिव्यक्त धारणा अविलम्ब सच्चाइनुपर्छ भन्ने राप्रपाको धारणा रहेको उल्लेख गरे।
पार्टीका पूर्वअध्यक्षहरूले पार्टी विभाजनको तयारी गरेको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष लिङ्देनले यसबारे बैठकलाई कुनै जानकारी नभएको बताए। पार्टी विभाजन गर्ने प्रयास गरे उनीहरूको जीवनको नै अन्तिम गल्ती हुने लिङ्देनले टिप्पणी गरे।
राप्रपा केन्द्रीय समिति बैठकले बजेटमा शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता नागरिकका आधारभूत विषयमा समेत लगाइएको अनुचित कर फिर्ता लिन सरकारसँग माग गरेको छ। त्यस्तै तत्काल मूल्यवृद्धि नियन्त्रण एवं बजारको प्रभावकारी अनुगमन गर्न राप्रपाले सरकारसँग माग गरेको छ।