काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
अ+
अ-

किमाथाङ्का (सङ्खुवासभा)। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन्।

शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए।

पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका–६ खानीडाडाँमा यारबहादुर तामाङका ६ जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताए। उनका अनुसार पहिराले विश्वकर्माको दुईतले घर पछाडितिरको भाग भत्काएको छ।

पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घरसमेत जोखिममा परेको छ । फेरि पहिरो जानसक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

पहिरोबाट विस्थापित अहिले छिमेकीको शरणमा बसेका छन् । पहिरो कारण सभापोखरी–१ धुपुमा खेतीयोग्य जमिन पुरिएको छ। धुपुका राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरीले जनाएको छ।

धुपु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिरहेको छ।