काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

राजनीति

क्रियाशील सदस्यता अद्यावधिकमा नआए महाधिवेशन प्रक्रियाबाट बाहिरिने चेतावनी

८ असार २०८३
कांग्रेस सभापति गगनकुमार थापा, नेताहरू शेखर कोइराला र शेरबहादुर देउवा।
अ+
अ-

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकको विवादले नयाँ मोड लिने संकेत देखिएको छ। विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालापक्षीय नेताहरू अद्यावधिक प्रक्रियामा सामेल हुन निरन्तर अनिच्छुक देखिएपछि संस्थापन पक्षले पनि उनीहरूलाई थप नपर्खिने संकेत गरेको हो।

सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष विशेष महाधिवेशन बहिष्कार गरेका समूहलाई समेटेर अघि बढ्ने प्रयासमा रहेको बताउँदै आएको छ। तर, देउवा-कोइराला पक्षका शीर्ष नेताहरू नै सदस्यता अद्यावधिकमा सहभागी नभएपछि संस्थापन पक्ष थप म्याद नदिई विधानअनुसार अघि बढ्ने मनस्थितिमा देखिएको हो।

३१ जेठमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले बारा र खोटाङमा अद्यावधिकका लागि ७ असारसम्म समयसीमा तोकेको थियो। त्यसअघि २८ जेठ रातिसम्मको समय तोकिए पनि काम नसकिएको भन्दै नयाँ मिति तय गरिएको थियो। ती जिल्लाको सदस्यता अद्यावधिक लगभग सकिएको कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्ण दुलाल बताउँछन्।

एक लाख हाराहारी सदस्य अद्यावधिक प्रक्रियामा सामेल नभएपछि उनीहरूबारे के गर्ने भन्ने सवालमा पार्टीभित्र छलफल चलिरहेको छ।

विदेशस्थित जनसम्पर्क समितिका लागि १० असार र केही विशेष प्रकृतिका सदस्यको हकमा २० असारसम्मको समयसीमा तोकिएको छ। विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई लक्षित गरी ‘विशेष प्रकृति’ का सदस्य भनिएको हो। तर, थप गरिएको समयसीमा गुज्रिँदै गर्दा पनि देउवा-कोइराला पक्ष अद्यावधिक प्रक्रियाप्रति उत्साहित देखिएको छैन। दुवै पक्षका ठूला नेताले सदस्यता अद्यावधिक गरेका छैनन्।

कांग्रेसमा सात लाख ८२ हजार क्रियाशील सदस्य छन्। तीमध्ये अहिलेसम्म ६ लाख ८७ हजारले अद्यावधिक गरिसकेको सदस्यता व्यवस्थापन समिति सदस्य तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेही बताउँछन्। तर, एक लाख हाराहारी सदस्य अद्यावधिक प्रक्रियामा सामेल नभएपछि उनीहरूबारे के गर्ने भन्ने सवालमा पार्टीभित्र छलफल चलिरहेको छ।

“कार्यकर्ताले अद्यावधिक गरेका छन्, नेताहरूले गरेका छैनन्,” सदस्यता व्यवस्थापन समिति सदस्य तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेही भन्छन्, “अद्यावधिकका लागि समय दिइएको छ। जो आउँछन्, उनीहरू प्रक्रियामा समेटिन्छन्; नआउनेलाई पर्खेर प्रक्रिया रोकिन्न।”

विधानको दबाब

२७ पुसमा सम्पन्न विशेष महाधिवेशनले कांग्रेसको विधान संशोधन गर्दै सदस्यता व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था गरेको थियो। संशोधित विधानको धारा ४ को उपधारा १४ मा सदस्यता अभिलेख अद्यावधिकका लागि विशेष प्रावधान समावेश गरिएको छ।

विधानअनुसार विशेष महाधिवेशनपछिको परिस्थितिलाई ध्यानमा राख्दै केन्द्रीय कार्यसमितिले एक पटकका लागि विशेष निर्णय गरी पार्टीमा आबद्ध सबै सदस्यलाई पुनः क्रियाशील सदस्यताको फाराम भर्न लगाउन सक्नेछ। त्यसमार्फत सदस्यताको अभिलेख अद्यावधिक गरिने र अद्यावधिक प्रक्रियापछि कायम रहेका सदस्यलाई परिचयपत्र प्रदान गरिने व्यवस्था छ।

पार्टीको सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था ल्याइएको कांग्रेसको भनाइ छ। विधानमा अद्यावधिक प्रयोजनका लागि सदस्यता वितरणसम्बन्धी प्रक्रिया, मापदण्ड र समयसीमा केन्द्रीय कार्यसमितिले तोकेबमोजिम हुने भनिएको छ।

देउवा-कोइराला पक्षका नेता-कार्यकर्ता अद्यावधिक प्रक्रियामा सहभागी हुने कि महाधिवेशन प्रक्रियाबाट बाहिर रहने, विकल्प छनोट गर्नुपर्ने निर्णायक अवस्थामा पुगेका छन्।

केन्द्रीय कार्यसमितिबाट तोकिएको समयावधिभित्र अद्यावधिक नगर्ने सदस्यको क्रियाशील सदस्यता कायम नरहने व्यवस्था गरिएको छ। अद्यावधिक नभएका सदस्य महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउँदैनन्।

यही व्यवस्थाका कारण देउवा-कोइराला पक्षका नेता-कार्यकर्ता अद्यावधिक प्रक्रियामा सहभागी हुने कि महाधिवेशन प्रक्रियाबाट बाहिर रहने, विकल्प छनोट गर्नुपर्ने निर्णायक अवस्थामा पुगेका छन्।

सदस्यता व्यवस्थापन समिति अद्यावधिक प्रक्रिया थप लम्ब्याउन नहुने पक्षमा छ। समितिका सदस्यहरू अद्यावधिकमा नआउनेलाई पर्खेर पार्टीको नियमित महाधिवेशन कार्यतालिका प्रभावित पार्न नहुने बताइरहेका छन्। सहमहामन्त्री रसाइलीका अनुसार असोज २०८३ भित्र नियमित महाधिवेशन गर्ने कार्यतालिका हेरफेर नहुने गरी अद्यावधिकको विषय टुंग्याउन पार्टी लागेको छ। उनी भन्छन्, “यो पार्टीको विधान हो। विधानले सबैलाई बाँधेको छ। सबै पद्धतिभित्र बस्नुपर्छ,” उनी भन्छन्, “अद्यावधिक परिचयपत्रविना कोही पनि पार्टीको महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउँदैन।”

सदस्यता अद्यावधिकको विषय विवाद गर्नुपर्ने अजेन्डा नभई पार्टीलाई आधुनिक बनाउने प्रयास भएकाले यसमा लामो वार्ता-बैठक गरिरहन आवश्यक नभएको निष्कर्ष उनको छ।

डिजिटल सदस्यतामा असहमति

अद्यावधिक गर्दा सबै सदस्यको फोन नम्बर, मोबाइल नम्बर, ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल विवरण समेट्ने व्यवस्था गरिएको छ। रसाइलीका अनुसार डिजिटल प्रविधिको प्रभाव बढिरहेका बेला कांग्रेसको सदस्यता प्रणाली पनि सोहीअनुसार व्यवस्थित गर्न खोजिएको हो।

“पुरानो ढंगबाट पार्टी चल्दैन,” उनी भन्छन्, “सामाजिक सञ्जालको शक्ति कति छ भन्ने बाङ्लादेशको विद्यार्थी विद्रोह र नेपालमा जेन-जी विद्रोहबाट स्पष्ट भइसकेको छ। सामाजिक सञ्जालका कारण चुनावमा जित-हारको परिस्थिति बन्ने बेला सभापतिले पार्टीलाई डिजिटल बनाउने प्रयत्न गर्नुभएको हो।”

तर, संस्थापन पक्षले इतर समूहसँग ठोस वार्ता नगरेका कारण सदस्यता अद्यावधिकको विषय कांग्रेसमा गोलचक्कर बनिरहेको आरोप इतर पक्षको छ। “कुनै नयाँ कुरा अघि बढेको छैन। त्यसैले हामी अद्यावधिक प्रक्रियामा छैनौँ,” नेता शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया भन्छन्।

अद्यावधिक प्रक्रियामा सामेल नहुने अडानमा रहेका देउवा-कोइराला पक्षको नयाँ औपचारिक धारणा भने आएको छैन। दुवै समूहले ३१ जेठमा विराटनगरमा भेला गरी पार्टी विभाजन हुन नदिन एक हुने उद्घोष गरेका थिए।

१५औँ महाधिवेशनका लागि तयार भएको नवीकरण संख्यालाई अद्यावधिकको अनिवार्य सर्त बनाउन नहुनेमा देउवा-कोइराला पक्षको अडान कायमै छ। नवीकरण भइसकेको सदस्यतालाई फेरि अद्यावधिकका नाममा अनिवार्य प्रक्रिया बनाउनु उचित नभएको निष्कर्ष उनीहरूको छ। इतर समूहले विशेष महाधिवेशनको अस्तित्व स्विकारे पनि त्यसले गरेका सबै निर्णय पूर्ण रूपमा स्वीकार गरिसकेको छैन।

१ जेठमा बसेको सदस्यता व्यवस्थापन समितिले अद्यावधिकलाई अनिवार्य सर्त मान्दै विधानको व्यवस्था कार्यान्वयनमा लगेपछि देउवा र कोइराला दुवै पक्ष प्रक्रियामा सामेल भएका छैनन्। विवाद चर्किंदै जाँदा सदस्यता अद्यावधिकको विषयले देउवा र कोइराला पक्षलाई एकै ठाउँमा उभ्याएको छ।

देउवा-कोइराला पक्ष ‘पर्ख र हेर’ मा

अद्यावधिक प्रक्रियामा सामेल नहुने अडानमा रहेका देउवा-कोइराला पक्षको नयाँ औपचारिक धारणा भने आएको छैन। दुवै समूहले ३१ जेठमा विराटनगरमा भेला गरी पार्टी विभाजन हुन नदिन एक हुने उद्घोष गरेका थिए।

देउवापक्षीय नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, शशांक कोइराला, एनपी साउद, मीन विश्वकर्मा र मोहनबहादुर बस्नेत कोसी प्रदेशस्तरीय उक्त भेलामा सहभागी थिए। शेखर कोइरालालाई मुख्य अतिथि बनाइएको भेलाले पार्टी एकता जोगाउन आवश्यक रहेको निष्कर्ष निकालेको थियो। त्यसयता कोइराला विराटनगरमै छन्।

देउवा समूह ‘पर्ख र हेर’ को रणनीतिमा देखिन्छ। विराटनगर भेलापछि समूहले थप गतिविधि गरेको छैन।

भेलाको दुई दिनपछि २ असारमा उपसभापति विश्वप्रकाश शर्मा र सिटौलाबीच झापाको धुलाबारीमा भेट भएको थियो। शर्माका दिवंगत काका श्याम भण्डारीको निधनमा शोक व्यक्त गर्ने क्रममा शर्मा-सिटौला भेट भएको हो। भेटमा पार्टीको आन्तरिक राजनीतिबारे कुराकानी भएको बताइए पनि दुवै नेताले यसबारे सार्वजनिक रूपमा बोलेका छैनन्।

देउवा समूह ‘पर्ख र हेर’ को रणनीतिमा देखिन्छ। विराटनगर भेलापछि समूहले थप गतिविधि गरेको छैन।

नेता प्रकाशशरण महत यसबीचमा कुनै संवाद-छलफल नभएको बताउँछन्। उनका अनुसार नवीकरण भइसकेपछि अद्यावधिकको सर्त ल्याइयो र डिजिटल प्रविधिका नाममा नयाँ शब्दावली प्रयोग गरियो।

“पहिले पनि कम्प्युटर प्रणालीमै सदस्यता नवीकरण गरिएको हो। यसलाई किन नयाँ विषयवस्तु बनाइयो, थाहा छैन,” महत भन्छन्, “उहाँहरूकै हातमा छ, हामीलाई कांग्रेस होइनौ भनिदिए भयो।”

पार्टीलाई डिजिटल बनाउने हो भने नवीकरणमा रहेको विवरण नै प्रणालीमा राख्न सकिने उनको मत छ।

“कसैले पार्टी छोडेका होलान्, उनीहरूको विवरण जिल्ला र वडाबाट मागेर हटाउँदा हुन्छ,” उनी भन्छन्, “तर कसैको गर्ने, कसैको नगर्ने भन्ने हुँदैन। गरिदेऊ भनेर आउनेलाई गर्ने, नआए तिमी कांग्रेस होइन भन्ने? यस्तो कुरा तर्कसंगत छैन।”