विश्वकप
विश्वकपमा पहिलो पटक सहभागी कुराआकोका गोलरक्षक एलोय रुम र केप भर्डेका भोजिन्हाको अनपेक्षित प्रदर्शनले परिणामलाई अनिश्चित बनाएको छ।
विश्वकप फुटबलको आइतबारको इक्वेडर र कुराआकोबीचको खेलको सुरुको तेस्रो मिनेटमै इक्वेडरका स्टार फरवार्ड एनर भालेन्सियालाई गोल गर्ने सुनौलो अवसर थियो। करिब १० यार्ड दूरीबाट उनले प्रहार गरेको बलले जाली चुम्ने निश्चित जस्तै थियो। किनभने, उनलाई रोक्न अब कुराकाओका गोलरक्षक एलोय रुम एक्ला थिए।
तर, उनै रुमले अविश्वसनीय बचाउ गर्दै इक्वेडरको खतरा टारे। उनले भालेन्सियाको प्रहार अनुमान गर्दै बललाई पोस्टबाहिर पठाए। यही क्षणले खेलको लय परिवर्तन गरिदियो।
त्यसपछि रुम लगातार चम्किए। उनले खेलभरि १५ वटा उत्कृष्ट बचाउ गर्दै इक्वेडरको लगातार आक्रमण रोक्दै कुराकाओलाई ऐतिहासिक गोलरहित बराबरीको नतिजा दिलाए। जारी विश्वकपमा ९० मिनेटको खेलमा सबैभन्दा धेरै बचाउ गर्ने उनी पहिलो गोलरक्षक हुन्।

क्यान्सास सिटीमा इक्वेडर र कुराकाओबीच भएको विश्वकप समूह ‘ई’ को फुटबल खेलमा बल छेक्दै कुराकाओका गोलकिपर एलोय रुम।
यसअघि यस्तै प्रदर्शन गर्नेमा अमेरिकाका गोलरक्षक टिम हावर्ड थिए। उनले सन् २०१४ को विश्वकपमा बेल्जियमविरुद्ध १६ बचाउ गरेका थिए। तर, अतिरिक्त समयमा गोल खाँदै हावर्डले ‘क्लिन सिट’ राख्न सकेनन्। रुमले भने पूरा खेलमा गोल नै हुन दिएनन्।
“टिम हावर्ड घरमै बसेर मेरो खेल हेर्दै पसिना पसिना भइरहेका होलान्,” खेलपछि रुमले हाँस्दै भने, “कुराकाओमा अब मेरो सालिक बनाइनुपर्छ होला!”
यसपल्ट साना राष्ट्रहरूलाई प्रतिस्पर्धी बनाउने मुख्य शक्ति भने गोलकिपिङ बनेको छ। खेलको गति, दबाब र अवसर बढ्दै जाँदा गोल रोक्ने क्षमताले नै नतिजा निर्धारण गर्न थालेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले यसपल्टको विश्वकपमा १६ टोली थपेको छ। टोलीसँगै गोलरक्षकको संख्या पनि बढेको छ। नियमअनुसार प्रत्येक टोलीले कम्तीमा तीन जना गोलरक्षक अनिवार्य राख्नुपर्ने हुन्छ। अधिकतर टोलीले तीन गोलरक्षक नै राखेको मान्ने हो भने प्रतियोगितामा १४४ जति गोलरक्षक छन्।
तर, समूह चरणका दोस्रो खेल भइरहँदा रुम जस्तै चम्किने गोलरक्षक औँलामा गन्न सकिने मात्र छन्। बीबीसीका विश्लेषक तथा आर्सनल क्लबका पूर्वडिफेन्डर र्टिन किउन भन्छन्, “खेलको अन्त्यतिर रुमले कति बचाउ गरे भनेर गन्न क्याल्कुलेटर नै चाहिन्थ्यो। उनी अद्भुत थिए। सुरुदेखि नै क्लिन सिट राख्ने नियतले खेले जस्ता देखिन्थे।”

विश्वकपमा कर्नर किकको बललाई हेड गर्दै कुराकाओका जुरियन गारी (दायाँबाट दोस्रो)
विश्व फुटबलमा प्रायः अग्रपंक्तिका खेलाडी बढी चर्चामा आउँछन्। विश्वकप सुरु हुनुअघि अर्जेन्टिनी कप्तान लिओनल मेसी, पोर्चुगिज कप्तान क्रिस्चियानो रोनाल्डो, फ्रान्सेली कप्तान केलियन एमबाप्पे, ब्राजिलियन फरवार्ड नेयमार जुनियर, भिनिसियस जुनियर जस्ता खेलाडी नै चर्चाको शिखरमा थिए।
यी खेलाडीको नाम चर्चामा रहनुको कारण पनि स्वाभाविक नै थियो। मेसी र रोनाल्डोको यो कीर्तिमानी छैटौँ विश्वकप थियो। सम्भवतः यो नै यी दुईको अन्तिम विश्वकप हो। नेयमार लामो समयपछि मैदान फर्किंदा चर्चा रहनु स्वाभाविक भइहाल्यो। एमबाप्पे र भिनिसियस जस्ता खेलाडीबाट भने विश्व फुटबललाई कस्तो प्रदर्शन होला भन्ने खुल्दुली थियो। तर, मेसी र रोनाल्डोले जस्तै छैटौँ पटक विश्वकप खेल्न लागेका मेक्सिकोका ४० वर्षीय अनुभवी गोलरक्षक गुइलेर्मो ओचोआको चर्चा अपेक्षाकृत कम भयो। त्यस्तै, लिभरपुललाई च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका ब्राजिलका गोलरक्षक अलिसन बेकर र ‘स्विपर-किपर’ शैलीलाई लोकप्रिय बनाउने जर्मनीका म्यानुअल नोयरको पनि खासै चर्चा भएन।
तर, चर्चामा मुख्य रूपमा अग्रपंक्तिका खेलाडीहरू नै रहे। तीमध्ये मेसीले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरे। अल्जेरियाविरुद्धको खेलमा उनले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए। यससँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरी (१६ गोल) गरे।
केप भर्डे विश्वकपमा खेल्ने तेस्रो सबैभन्दा सानो राष्ट्र हो। तर, स्पेनसँग भोजिन्हाले गरेको प्रदर्शनले यो टोली सहभागी हुन मात्र होइन, प्रतिस्पर्धी बन्न आएको पनि प्रमाणित गरिदियो।
विश्वकपमै १५ गोल गरेका ब्राजिलका महान् फुटबलर रोनाल्डो नाजारियोले फुटबल जगत्ले अब मेसीलाई सर्वकालीन उत्कृष्ट खेलाडी स्वीकार गर्नुपर्ने बताए। “हरेक पटक मेसी मैदानमा उत्रिँदा सबै कुरा ऐतिहासिक र विशेष बन्न जान्छ। अब विश्वले उनी सर्वकालीन उत्कृष्ट खेलाडी हुन् भन्ने तथ्य स्वीकार गर्ने समय आएको छ,” उनले टाइसी स्पोर्टस्सँग भने।
यसअघि नै मेसीले उक्त कीर्तिमान बराबरी गर्नुअघि नै फ्रान्सका कप्तान एमबाप्पेले विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा पेले (१२ गोल)लाई उछिनिसकेका थिए। त्यस समयमा मेसी गोलसंख्याको हिसाबले एमबाप्पेभन्दा एक गोलले पछि थिए। तर‚ सेनेगलविरुद्ध ३-१ को जितमा दुई गोल गरेका एमबाप्पे मेसीको ऐतिहासिक उपलब्धिको छायामा परे। यद्यपि‚ सामाजिक सञ्जालमा उनीहरू दुवै दिनभर चर्चामा रहे।
हाल जारी विश्वकपमा दुई गोल गरेका भिनिसियस जुनियर हुन् या अहिलेसम्म गोल गर्न नसकेका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो, मेसी र एमबाप्पे जस्तै चर्चामा छन्। चोटका कारण खेल्न नपाएका नेयमारको चर्चा सामाजिक सञ्जालमा निरन्तर भइरहेकै छ। उनीहरूले कति गोल गर्छन् वा गर्दैनन् र उपाधि जित्छन् या जित्दैनन् भन्ने विषयमा व्यापक बहस चलिरहेको छ।

१५ जुन २०२६ मा एटलान्टा स्टेडियममा भएको विश्वकप खेलमा केप भर्डेका गोलकिपर भोजिन्हा।
वास्तविकता भने फरक हुन्छ। उपाधि जिताउन निर्णायक भूमिका प्रायः गोलरक्षकको हुन्छ। एउटा पेनाल्टी बचाउ, अन्तिम क्षणको उत्कृष्ट सेभ वा क्रसबारमाथि औँलाले छोएर रोकिएको बलले पनि सम्पूर्ण प्रतियोगिताको दिशा बदल्न सक्छ।
यसअघि विश्वकपहरूमा चर्चा प्रायः गोल गर्ने स्ट्राइकरको वरिपरि घुम्थ्यो। एक गोल, एक हेडर वा एक सनसनीपूर्ण फिनिसले खेलको कथा लेखिरहेको हुन्थ्यो। सन् २०२६ को संस्करणमा भने दृश्य फरक देखिएको छ। यसपल्ट साना राष्ट्रहरूलाई प्रतिस्पर्धी बनाउने मुख्य शक्ति भने गोलकिपिङ बनेको छ। खेलको गति, दबाब र अवसर बढ्दै जाँदा गोल रोक्ने क्षमताले नै नतिजा निर्धारण गर्न थालेको छ।
कुराकाओ र केप भर्डे जस्ता साना टोलीले ठूला फुटबल शक्तिलाई रोक्दै अंक खोस्न सकेका छन्। यी परिणाम भाग्य वा रक्षात्मक खेलका कारण मात्र सम्भव भने भएका होइनन्। बरु अन्तिम क्षणमा निर्णायक बचाउ गर्ने गोलरक्षकको उत्कृष्ट प्रदर्शनले सम्भव भएको हो।
भोजिन्हाले रोपेको बीउ
जारी विश्वकपमा त्यसको बीउ भने केप भर्डेका गोलरक्षक भोजिन्हा (जोसिमार जोसे एभोरा डियास)ले रोपेका हुन्। केप भर्डेले पहिलो खेलमै ठूलो उलटफेर गर्दै शक्तिशाली सन् २०१० को विश्वविजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो। यस नतिजाले प्रतियोगितामा पहिलो पटक सहभागी भएको केप भर्डेलाई ऐतिहासिक अंक दिलायो।
टोलीको यस उपलब्धिको मुख्य आधार भने ४० वर्षीय अनुभवी गोलरक्षक भोजिन्हा थिए। ४० वर्ष १२ दिनको उमेरमा विश्वकपमा डेब्यु गरेर कीर्तिमान राखेका उनको प्रदर्शन २२/२४ वर्षका युवा गोलरक्षकको भन्दा कम थिएन। खेलभर उत्कृष्ट प्रदर्शन गर्दै सात वटा महत्त्वपूर्ण बचाउ गरे। प्रत्येक बचाउलाई केप भर्डेका समर्थकले आफ्नो टोलीले गोल गरे जस्तै उत्सव मनाए।

१५ जुन २०२६ मा स्पेन र केप भर्डेबीचको विश्वकप खेलपछि केप भर्डेका गोलकिपर भोजिन्हा (बायाँ)।
स्पेनले अपेक्षित रूपमा खेल नियन्त्रणमा राखे पनि उनको चुस्त प्रतिक्रिया र आत्मविश्वासी बचाउका कारण गोल गर्न सकेन। योसँगै टोलीले ऐतिहासिक बराबरी खेलेको थियो।
खेलपछि भोजिन्हा भावुक देखिए। उनले भनेका थिए, “मैले जीवनभर यही क्षणका लागि सपना देखेको थिएँ। धेरै पुस्ताले यस अवसरको प्रतीक्षा गरेका थिए।” यो प्रदर्शनपछि उनको लोकप्रियता असाधारण रूपमा बढ्यो। खेलअघि करिब ४६ हजार रहेको उनको सामाजिक सञ्जाल इन्स्टाग्राम फलोअर संख्या बढेर एक करोड ४९ लाखभन्दा बढी पुगेको छ। यसले उनलाई विश्वकपका सबैभन्दा भाइरल खेलाडीमध्ये एक बनायो।
करिब पाँच लाख जनसंख्या भएको केप भर्डे विश्वकपमा खेल्ने तेस्रो सबैभन्दा सानो राष्ट्र हो। तर, स्पेनसँग भोजिन्हाले गरेको प्रदर्शनले यो टोली सहभागी हुन मात्र होइन, प्रतिस्पर्धी बन्न आएको पनि प्रमाणित गरिदियो। “उनी ४० वर्षको उमेरमा पनि अविश्वसनीय थिए। उनले खेल नै चम्काइदिए,” स्कटल्यान्डका पूर्वखेलाडी प्याट नेभिन भन्छन्। तर, उनको चर्चा एकदमै सेलायो।
व्यक्तिगत प्रशंसा र सामाजिक सञ्जालको चर्चामा भने भोजिन्हा खासै ध्यान दिन चाहँदैनन्। उरुग्वेसँगको खेलअघि उनले भनेका थिए, “म यसबारे कुरा गर्न चाहन्नँ। हामी यहाँ फुटबलका लागि आएका हौँ। हामी राष्ट्रिय टोली र विश्वकपका लागि यहाँ छौँ। म सबै कुराका लागि आभारी छु, तर कृपया फुटबलमै कुरा गरौँ।”