काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

७ असार २०८३
अ+
अ-

कैलाली। धनगढी उपमहानगरपालिकाले आगामी आव ०८३/८४ का लागि दुई अर्ब ६४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ।

आज (आइतबार) आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकलाकुमारी रानाले बजेट सार्वजनिक गरिन्। उनका अनुसार आगामी आवका लागि चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटका स्रोतका रूपमा आन्तरिक आयबाट ५५ करोड १० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार रुपैयाँ, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ एक अर्ब ६ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने जनाएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ तथा चालु आवको बचतबाट ४२ करोड ३० लाख २१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। चालु आवको दुई अर्ब ५६ करोड चार लाख रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म एक अर्ब ७७ करोड ४९ लाख ५१ हजार रुपैयाँ प्राप्त भएकामा एक अर्ब १९ करोड ९४ लाख रुपैयाँ खर्च भएको उपप्रमुख रानाले जानकारी दिइन्।

उपमहानगरले आगामी आवको बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिएको छ। उपमहानगरले आगामी वर्ष नगर गौरवका आयोजना सञ्चालन तथा वडा स्वास्थ्य क्लिनिकलाई थप सुदृढीकरण गर्ने जनाइएको छ।

विकास आयोजनाको प्रभावकारी सञ्चालनका लागि आयोजना बैंक स्थापना गर्ने र त्यसमा समावेश आयोजना क्रमशः कार्यान्वयन गर्दै लगिने र सीप सिकाएर युवालाई स्वरोजगार बनाउन सीप तथा रोजगार मेला सञ्चालनलाई उपमहानगरले आगामी वर्ष निरन्तरता दिने भएको छ।