काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

विश्व संगीत दिवस

गायक-डाक्टर सुमन थापाले संगीतबाट फैलाइरहेको उपचार सेवा

७ असार २०८३
डाक्टर सुमन थापा। तस्बिरहरू : प्रभाकर गौतम
अ+
अ-

किन बोल्नु, बोल्दिनँ म

बोल्छ आँखाले

पत्तै नपाई यो मनपेट

खोल्छ आँखाले।

(शब्द : श्रवण मुकारुङ, संगीत : आभास)

आँखाका विशेषताबारेको यो गीत आँखारोग विशेषज्ञकै आवाजमा सुन्दा अझै अर्थपूर्ण लाग्ने रहेछ। यो गीत गाउने गायक हुन्, डाक्टर सुमन थापा।

हुन त दुई डुंगामा खुट्टा नराख्नू भन्छन्, तर डाक्टर थापाले यसको ठिक उल्टो काम गरे। दुई फरक क्षेत्रबीचको सन्तुलन मिलाएर उनले कला र स्वास्थ्यलाई मात्रै जोडेनन्, यी दुवै क्षेत्रलाई समाज रूपान्तरणको औजार पनि बनाए।

कोलकातामा जन्मेर काठमाडौँको दरबारमार्ग क्षेत्रमा हुर्किएका थापालाई आफू संगीतप्रति आकर्षित हुने विशेष कारणको स्मरण छैन। उनलाई याद भएसम्म स्कुल पढ्ने बेलादेखि नै संगीत उनीभित्र बसेको छ। भन्छन्, “साथीहरूसँग मिलेर गाउँथेँ, बजाउँथेँ र संगीतमै करिअर बनाउँछु भन्ने सोच थियो। तर, सोचे जस्तो भएन। परिवारको चाहनाअनुसार एमबीबीएस पढ्नुपर्‍यो।”

एकातिर नेत्रविज्ञानको पढाइ, अर्कातिर संगीतमै करिअर बनाउने आकांक्षा। सुरुआती समयमा उनको मन उकुसमुकुसमा पर्‍यो। ती क्षण सम्झँदै थापा भन्छन्, “केही समय त निकै निराश भएँ।”

सन् १९९८ मा उनको जीवनको एउटा महत्त्वपूर्ण मोड आयो। भारतमा पोस्ट-ग्राजुएट गर्ने बेला उनी जस्तै पढाइले डाक्टर तर रुचिले संगीतकर्मी साथीहरूसँग भेट भयो। त्यसपछि आफू जस्तै दोधारमा बाँचिरहेका अरू धेरै रहेछन् भन्ने थाहा पाए। पछि, तिनै साथीहरूसँग कलेजमै च्यारिटी कन्सर्ट गर्ने आइडिया जन्मियो।

डाक्टर सुमन थापा।

थापा र साथीहरू मिलेर कन्सर्ट आयोजना गरे। टिकटको मोल राखे, ३० रुपैयाँ। थापाका अनुसार कन्सर्टमा एक हजारजति श्रोता आएका थिए। “त्यस कन्सर्टबाट संकलित रकमबाट हामीले दृष्टिविहीनहरूका लागि दृष्टि पुन:स्थापना कोष बनायौँ। त्यसबेला मलाई पहिलो पटक महसुस भयो, म्युजिक र मेडिसिनलाई एउटै बिन्दुमा जोड्न सकिने रहेछ,” उनी भन्छन्।

संगीतप्रतिको लगाव मनको कुनामा थन्क्याइराखेका थापाले बल्ल शान्ति भेटे। आँखा उपचारबारे पढ्न गएका उनलाई त्यही कन्सर्टपछि बल्ल आफैँले पनि स्पष्ट देख्न थाले जस्तो भयो। कलेजमा उनको नेतृत्वमा आयोजित कन्सर्टबाट बनेको कोष अहिले पनि छ। मौका मिलेको बेला कलेजका पुराना साथीहरू भेट्न जान्छन्। उनीहरूबीच अहिले पनि ‘म्युजिकल ज्याम’ चल्छ।

संगीतमार्फत दुर्गममा उपचार

भारतबाट फर्केपछि थापाले तिलगंगा आँखा अस्पतालमा काम पाए। तिलगंगाले सञ्चालन गर्ने स्वास्थ्य शिविरहरूमा सहभागी भई देशका विभिन्न ठाउँमा पुगे। पढाइ र कामको सिलसिलामा देश-विदेश आउजाउ गरिरहे। यस क्रममा संगीतलाई नै भनेर धेरै समय दिन नपाए पनि संगीतबाट अलग्गिएर भने बसेनन्।

२०७२ सालको भूकम्पपछि उनको जीवनमा ठूलो मोड आयो। भूकम्पका कारण हजारौँले ज्यान गुमाए। भूकम्पले एकातिर धेरै जिल्लामा भौतिक संरचनामा क्षति गरेको थियो, अर्कातिर कैयौँ मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर पारेको थियो।

यो अवस्था देखेर छटपटाएका थापाले साथीहरूसँग भूकम्पप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन थाले। काठमाडौँ नजिकका पायक पर्ने ठाउँमा महिनाको एक दिन स्वास्थ्य शिविर चलाउने सोचसहित यो पहल अभियानका रूपमा अघि बढ्यो। समूहले भूकम्पको त्रासमा बाँचिरहेका बस्तीहरूमा गएर बालबालिकालाई विभिन्न रचनात्मक काममा सहभागी गराउनेदेखि सरसफाइका सामान, औषधिलगायत सामग्री वितरण गर्न थाल्यो। उनीहरू जहाँ पुग्थे, त्यहाँ संगीत पनि गुन्जाउँथे।

डाक्टर थापा र उनको समूहले यो संस्थामार्फत दुर्गम क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्छ। त्यसका लागि आवश्यक पर्ने रकम सांगीतिक प्रस्तुतिमार्फत जुटाइन्छ।

उनीहरूको कामले अन्य साथीहरूलाई समेत आकर्षित गर्‍यो। नयाँ साथीहरू थपिँदै जाँदा स्वास्थ्य सेवामा धेरै काम गर्न सकिने रहेछ भन्ने निष्कर्षमा पुगे उनीहरू। समान सेवाभाव र संवेदना भएकाहरूको यो समूहले १२ वटा स्वास्थ्य शिविर सम्पन्न गरिसकेपछि संस्थागत रूपमा अघि बढ्ने निर्णय गर्‍यो। त्यसपछि जन्मियो, गैरनाफामूलक संस्था ‘एक एक पाइला’।

डाक्टर थापा र उनको समूहले यो संस्थामार्फत दुर्गम क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्छ। त्यसका लागि आवश्यक पर्ने रकम सांगीतिक प्रस्तुतिमार्फत जुटाइन्छ। थापा भन्छन्, “संगीतलाई सेवाको औपचारिक माध्यम बनाउन हामीले म्युजिक फर मेडिसिन नामक संस्था बनायौँ।”

एक एक पाइला र म्युजिक फर मेडिसिनले आयोजना गरेको कन्सर्टबाट आएको केही रकम त्यही ठाउँको स्वास्थ्य क्षेत्रमा जान्छ। एक एक पाइलाको मुख्य काम कर्णाली र सुदूरपश्चिम जस्ता विकट ठाउँलक्षित छ।

म्युजिक फर मेडिसिनले संगीत पढ्न चाहने तर पारिवारिक अवस्थाका कारण पढ्न नसक्नेहरूका लागि आर्थिक सहयोग र छात्रवृत्तिसमेत दिन्छ। यसले अटिज्मका बिरामी र लागुऔषधमा फसेकाहरूलाई म्युजिक थेरापी दिने काम पनि गर्दै आएको छ।

एक एक पाइला र म्युजिक फर मेडिसिनले संगीतकै माध्यमबाट स्वास्थ्यसम्बन्धी जनचेतना पनि फैलाउँदै आएका छन्, त्यो पनि स्थानीय भाकामा।

पहिलो स्वास्थ्य शिविर सिन्धुपाल्चोकको चनौटेमा सञ्चालन गरेको एक एक पाइलाले नुवाकोट, दोलखा, रसुवा, मनाङ, डोल्पा, हुम्ला, मुगुदेखि पूर्वमा ताप्लेजुङसम्म झन्डै ४० वटा शिविर सञ्चालन गरिसकेको छ। जहाँ राज्य पुग्न सकेको छैन, त्यहाँ एक एक पाइला गर्दै हामी नै पुगौँ भन्ने भावनाका साथ थापाको समूह सञ्चालन गरेका यी शिविरबाट हजारौँ मानिसले स्वास्थ्य लाभ लिइसकेका छन्।

डाक्टर थापाका अनुसार एक एक पाइलाले समाजसेवी भावनाले व्यक्तिभन्दा संस्था ठूलो भन्ने भावना बोकेर काम गर्छ। आज संस्थाको अभियानमा थुप्रै मानिस जोडिन इच्छुक हुनुमा यही भावनाले काम गरेको उनको ठम्याइ छ।

डाक्टर सुमन थापा। तस्बिर स्रोत : पलेँटीको यूट्युव

एक एक पाइलाका स्वास्थ्य शिविरलाई एउटा कुराले भिन्न बनाउँछ, र त्यो हो संगीत। एक दशकभन्दा लामो यात्रामा एक एक पाइला र म्युजिक फर मेडिसिन फरक संस्था भए पनि दुई पाउ जसरी एकै ठाउँमा उभिएका छन्। स्वास्थ्य शिविर स्मरण गर्दै संगीतको शक्तिबारे डाक्टर थापा भन्छन्, “एकछिनका लागि भए पनि संगीतले एउटा साझा प्लेटफर्म बनाउँछ। बिरामी होस् कि डाक्टर, धनी होस् कि गरिब, सबै जना दुःख-सुख भुलेर एकै ठाउँमा रमाउँछन्।”

एक एक पाइला र म्युजिक फर मेडिसिनले संगीतकै माध्यमबाट स्वास्थ्यसम्बन्धी जनचेतना पनि फैलाउँदै आएका छन्, त्यो पनि स्थानीय भाकामा। जसले गर्दा स्थानीयहरूले सन्देश बुझेका छन् भने लोकभाकाको प्रवर्द्धन गरिँदा स्थानीय कलाकारले समेत अवसर पाएका छन्।

कुनै समय उपचार कर्म छोडेर संगीत मात्रै गरिरहूँ जस्तो लाग्ने थापालाई अहिले आफ्नो काम र रुचि दुई आँखा जस्तो लाग्छ। उनलाई डाक्टर बनेर कहाँ फसेँ जस्तो लाग्दैन, बरु समाजका लागि केही त गर्न सकेँ भनेर सन्तोष लाग्छ।

सानै उमेरदेखि आफूले संगीत सुन्दै, गाउँदै, बजाउँदै आएको भए पनि शिविरमा गरिने कन्सर्टमा संगीतको शक्ति देखेर अचम्ममा पर्ने गरेको थापा बताउँछन्। सम्झिन्छन्, “मैले अनुभव गरेको एउटा बिर्सन नसकिने घटना रुकुमको हो। त्यहाँ स्वास्थ्य शिविरमा उपचार गराउन आएको सानो बच्चा आमाको काखमा एकदमै निन्याउरो भएर बसेको थियो। तर, जब कन्सर्ट सुरु भयो, त्यही बच्चा उठेर नाच्न पो थाल्यो। त्यसले मलाई विश्वास दिलायो, विज्ञानले रोगको उपचार गर्छ भने संगीतले मानसिक अवस्थालाई ठिक पार्छ।”

सबैभन्दा नजिकको साथी जस्तो रहेको संगीतसँग डाक्टरी पेसाका कारण टाढिनुपरेको महसुस गरेर थापाले च्यारिटी कन्सर्ट गर्न थालेका हुन्। तर, समयक्रममा त्यो प्रयास यसरी सेवाको बृहत् रूप बन्ला भनेर उनले सोचेकै थिएनन्। कुनै समय उपचार कर्म छोडेर संगीत मात्रै गरिरहूँ जस्तो लाग्ने उनलाई अहिले आफ्नो काम र रुचि दुई आँखा जस्तो लाग्छ। उनलाई डाक्टर बनेर कहाँ फसेँ जस्तो लाग्दैन, बरु समाजका लागि केही त गर्न सकेँ भनेर सन्तोष लाग्छ। उनी भन्छन्, “संगीत आर्थिक हिसाबले अहिले पनि कठिन क्षेत्र हो। मलाई लाग्छ, म डाक्टर भएकै कारण संगीतलाई यसरी सामाजिक सेवामा जोड्न सकेको हुँ। म म्युजिसियन मात्र भएको भए यसरी सेवा गर्नेबारे सोच्न पनि सक्दिनथेँ होला।”

थापा नेपालबाट जलविन्दुमा विद्यावारिधि गर्ने पहिलो डाक्टर हुन्। उनको अधिकांश समय आँखाको ज्योति गुमाएका, दृष्टि धमिलिँदै गएका बिरामीहरूको उपचारमै बित्छ। हालसम्म उनले ६० हजारभन्दा बढी बिरामीको शल्यक्रिया गरेर संसार हेर्न सहज बनाइसकेका छन्। उनको संगीत कर्म पनि चलिरहेकै छ। ब्लु फ्रेट ब्यान्डमा आबद्ध उनी बेलाबेला सांगीतिक कार्यक्रम गरिरहन्छन्। एकथरी मानिसले उनलाई यो डाक्टरले गीत पनि गाउँछ भनेर चिन्छन्। संगीतकै कारण उनलाई चिन्नेहरू ‘गायक डाक्टर’ भन्छन्।

डाक्टर थापा आफूले महत्त्वाकांक्षी भएर काम गरेको नभई मनबाट काम गर्दै जाँदा यसले बृहत् रूप लिएको बताउँछन्। आगामी दिनमा पनि उनीसँग कुनै महत्त्वाकांक्षा र खास सपना छैन। उनी भन्छन्, “जे गर्दै छु, त्यही कामलाई निरन्तरता दिइरहन सकूँ। एक एक पाइला बढाइरहे अरू पाइला बिस्तारै आफैँ थपिने रहेछन्।”