काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

७ असार २०८३
प्रदीप ज्ञवाली। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

चितवन। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकार र शक्तिमा बस्नेहरूले गतिसँगै सन्तुलन पनि मिलाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको उद्घाटन सत्रमा उनले रास्वपाका नेताहरू सरकारमा सहभागी भएपछि देशको भूराजनीतिक जटिलता र वैदेशिक सम्बन्धको संवेदनशीलतालाई बुझिसकेको हुनुपर्ने बताए। उनले साना गल्ती वा एउटा गलत निर्णयले पनि देशमा भूराजनीतिक दबाब बढ्न सक्ने भन्दै राष्ट्रिय हित र स्वाधीनताको रक्षाका लागि रास्वपाको जनमत सुदृढ हुनुपर्नेमा जोड दिए।

नयाँ सरकार गठन भएको करिब ८० दिन पुग्न लागेको सन्दर्भ जोड्दै नेता ज्ञवालीले सरकारका कतिपय प्रारम्भिक निर्णय र गतिविधिले लोकतन्त्र, शक्ति सन्तुलन र पारदर्शितामाथि प्रश्न खडा गरेको टिप्पणीसमेत गरे। उनले ती प्रश्नको जवाफ जनतालाई कामबाटै दिनुपर्ने भन्दै लोकतन्त्रलाई बलियो बनाउन रास्वपाको वाचापत्र र व्यवहार मिल्नुपर्ने बताए।

नेता ज्ञवालीले गाडीमा स्पिड बढाउन एक्सिलेटरजस्तै रोक्नका लागि ब्रेकको पनि उत्तिकै भूमिका हुने भन्दै गति र सन्तुलन मिलाइर अघि बढ्न रास्वपा नेतृत्वलाई सुझाए।