काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले कार्यतालिमा निर्वाचन प्रक्रियाका लागि उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी नियम सार्वजनिक गरेको छ।
निर्वाचन प्रक्रियामा पार्टी सभापतिको मनोनयन फारम दाखिला गर्दा १ जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सीले जानकारी दिए।
उनका अनुसार पार्टी पदाधिकारी र पार्टी केन्द्रीय सदस्यका उम्मेदवारहरूले मनोनयन फारम दाखिला गर्दा १ जना प्रस्तावक र २१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने छ।
रास्वपाले कुनैपनि पदका उम्मेदवारका एक प्रस्तावकले कुनै एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकको रुपमा हस्ताक्षर गर्न नपाइने जनाएको छ। कुनै पनि पदका उम्मेदवारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा हस्ताक्षर भने गर्न पाइने केसीले बताए।
रास्वपाको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदा ५१ जना हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यले २१ हजार रुपैयाँ बुझाउनुपर्दछ।
पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। प्रतिनिधि सम्बन्धी विवादका कारणले आज सकिनुपर्ने महाधिवेशन लम्बिएको छ।
