विराटनगर। मोरङ प्रहरीले विराटनगरबाट अभिषेक गिरीलाई पक्राउ गरेको छ।
मोरङ जिल्ला कारागारका कैदीबन्दीबाट रकम असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई विराटनगर ८, मधुमारास्थित उनकै निवासबाट शनिबार बिहान पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीको निवासमा खानतलासी गरेको थियो। घरमा शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले मोरङ प्रहरी प्रमुख एवं एसपी कवित कटुवालले जानकारी दिए।

अभिषेक गिरीको गाडी खनतलासी गर्दै प्रहरी।
यस्तो छ गिरीमाथिको आरोप
प्रहरीका अनुसार गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकमसमेत असुली गर्ने गरेको आरोप छ।
मोरङ कारागारमा अहिले एक हजार ९२ पुरुष र १०७ महिला गरी कुल एक हजार १९९ कैदीबन्दी छन्। उनीहरूले दैनिक ८० रुपैयाँ भत्ता पाउँछन्। जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ।
त्यसबाहेक कारागारभित्र करिब पाँच सय जनाले मुडा र एक सय जनाले गलैँचा बुन्ने काम गर्छन्। ती सामग्री बिक्रीबाट आएको रकम र सरकारले पठाउने जाडो गर्मी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार कैदीबन्दीको पैसा कुन-कुन च्यानलबाट गिरीको खातामा पुग्यो भन्नेबारे प्रमाण संकलन गर्ने काम भइरहेको छ।
प्रहरी निरीक्षक अभिषेक श्रेष्ठ नेतृत्वमा खटिएको टोलीले गिरीको घर अगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको थियो। गाडीमा केही फेला नपरेपछि प्रहरीले घरभित्र सर्च गरेको थियो।
एसपी कटुवालले घटनाको विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए। यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही कैद भुक्तान गरिसकेका गिरी कारागारबाट छुटेपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए।
शरीर बन्धक तथा अपहरण मुद्दामा नौ वर्ष कारागारमा हुँदा गिरी लामो समय मोरङ कारागारको चौकीदार थिए । कारागारभित्र रहँदा कैदीबन्दीमाथि दमन गरेको र आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो । कैद भुक्तान गरी निस्किएपछि पनि उनले कारागारको आन्तरिक व्यवस्थापनमा बाहिरैबाट हस्तक्षेप गर्ने गरेको आरोप छ ।
अहिले उनी नेपाली कांग्रेसको क्रियाशील सदस्य छन्। २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमान्डर बनेका थिए।
जेल बसेर छुटेपछि फेरि अपराधमै
गिरीमाथि विराटनगरका करण यादवको हत्या आरोप लागेको थियो। २०६५ सालमा तत्कालीन जिल्ला विकास समितिको कार्यालयअगाडि तरबार प्रहार गरी यादवको हत्या गरेको आरोप गिरीलाई लागेको थियो। उक्त मुद्दामा २०६९ सालमा गिरीले सफाइ पाएका थिए।
जेलबाट छुटेपछि गिरी फेरि काठमाडौँलाई आधार क्षेत्र बनाएर अपराधमा सक्रिय रहे। २०७० सालमा उनी फेरि पक्राउ परे। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरी पक्राउ परेका थिए। गिरीले महिला प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएको आरोप थियो। रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाएर गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए।
गिरीलाई अपरहरण तथा शरीर बन्धक मुद्दा चलाइएकामा अदालतले १० वर्ष कैद सजाय सुनाएको थियो। गिरीमाथि जेलबाटै असुली, फिरौती मागेको आरोप लागेको थियो। अहिले जेलबाहिर बसेर मोरङ कारागारमा आतंक मच्चाएको आरोपसमेत गिरीलाई लागेको छ।

विराटनगर ८‚ मधुमारामा रहेको अभिषेक गिरीको घर।
गिरीमाथि २०६६ सालमा विराटनगरकै पर्शुराम बस्नेतमाथि गोली प्रहार गरेको आरोप लागेको थियो। गिरीले जेलबाटै मान्छे खटाएर बस्नेतको हत्या गर्न खोजेको आरोप लागेको थियो।
आपराधिक गतिविधिमा एकसाथ रहेका गिरी र बस्नेतबीच लेनदेन नमिलेपछि छुट्टिएर एक-अर्काका विरोधी भएका थिए। आफूलाई गोली प्रहार गराएको घटनाको बदलास्वरूप बस्नेतले २०६८ सालमा जिल्ला अदालत मोरङमै गिरीमाथि आक्रमण गराएका थिए। “गिरीमाथि विगतदेखि अहिले लागेका आरोप र गुनासो सबै विषयमा अनुसन्धान हुन्छ,” प्रहरी उपरीक्षक कटवालले भने।
राजनीतिक प्रतिशोध साँधियो : गिरी
पक्राउ परेका अभिषेक गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गरेका छन्। उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, “सुरुमा हातहतियार छ भनेर प्रहरीले घर खानतलासी गर्यो। केही नभेटिएपछि अहिले अर्को बहानामा नियन्त्रणमा लिएको छ। सत्ता परिवर्तन भएपछि मलाई दुःख दिने र प्रतिशोध साँध्ने नियतले मात्र यो सबै गरिएको हो।”
प्रहरीले गिरी र कारागारका चौकीदारबीचको आर्थिक लेनदेनको विषयमा बैंकिङ कारोबार र अन्य प्रमाणहरू केलाइरहेको जनाएको छ।