नयाँदिल्ली। भारतको पश्चिम बंगालस्थित एक पेट्रोकेमिकल प्लान्टमा आज (मंगलबार) आगलागी भएको छ। आगलागीमा परेर २० जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ।
आगलागी हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित प्लान्टको नेफ्था पाइपलाइनमा भएको थियो। पश्चिम बंगालको पूर्वा मेदिनीपुर जिल्लास्थित उक्त क्षेत्रमा तीव्र रूपमा आगो फैलिएको थियो। यो क्षेत्र कोलकाताबाट करिब १३० किलोमिटर दक्षिण-पश्चिममा पर्छ।
प्रहरीका अनुसार आगो नियन्त्रणका लागि १२ वटा दमकल परिचालन गरिएको थियो। घाइतेको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये प्लान्टका कामदार तथा दुई सुरक्षा गार्ड पनि छन्।
घटनास्थलबाट प्राप्त दृश्यमा जलिरहेको पाइपलाइनबाट बाक्लो कालो धुवाँ निस्किएको तथा अग्निनियन्त्रकले पानीको फोहोरा प्रयोग गरी आगो नियन्त्रणमा लिएको देखिएको छ।
नेफ्था इन्धन तथा विभिन्न रसायन उत्पादनमा प्रयोग हुने अत्यधिक प्रज्वलनशील पेट्रोलियम पदार्थ हो।
आगलागीको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। हल्दिया पेट्रोकेमिकल्सले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।