काठमडौँ। जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ को अत्यन्तै रोमाञ्चक र नाटकीय भिडन्तमा पाराग्वेले बलियो प्रतिद्वन्द्वी जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरको छ।
सोमबार बिहानका राति भएको रोमाञ्चक र तनावपूर्ण राउन्ड अफ ३२ को खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
खेलको ४२औं मिनेटमा जुलियो एन्सिन्सोले हेडमार्फत गोल गर्दै पराग्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए।
दोस्रो हाफमा जर्मनीले सुधारिएको प्रदर्शन गर्यो। फ्लोरियान विर्ट्जको पासमा काइ हाभर्ट्जले हेडमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन्। निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको हो।
जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय गरिएको यो पहिलो खेल बनेको छ। पेनाल्टीसुटआउटमा पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले गोल गरे। जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे।
सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई-दुई प्रहार रोक्दा ३-३ को बराबरी भएको थियो।
त्यसपछि जर्मनीका ताहले छैटौँपटक गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो। यसपछि पाराग्वेका जोसे कानालेले गरेको प्रहार गोलमा परिणत भयो र टोली विजयी भयो।