काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

१७ असार २०८३
अ+
अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घटाइएपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्ट नै देशका विभिन्न स्थानबाट ‘पेट्रोल छैन’, ‘डिजेल छैन’ भन्दै बिक्री बन्द गरिएको सूचना प्राप्त भएको बताएका छन्।

उनले मूल्य घटेपछि पुरानो महँगो मूल्यमा खरिद गरिएको इन्धन जोगाएर थप नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यस्तो कार्य उपभोक्तामाथिको ठगी मात्र नभई बजार प्रणाली र कानुनी शासनमाथिको चुनौती भएको उनको भनाइ छ।

शाहीले सरकार, सम्बन्धित नियामक निकाय तथा अनुगमन टोलीलाई बजार अनुगमन तीव्र बनाउन आग्रह गर्दै इन्धन लुकाएर बिक्री बन्द गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

साथै उनले आम उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्दै, आफ्नो क्षेत्रमा मूल्य घटेपछि इन्धन लुकाइएको, ‘स्टक छैन’ भन्दै बिक्री रोकिएको वा कृत्रिम अभाव सिर्जना गरिएको पाइएमा सम्बन्धित पेट्रोल पम्पको नाम, ठेगाना, फोटो वा भिडियोसहित प्रमाण उपलब्ध गराउन अपिल गरेका छन्। प्राप्त प्रमाणका आधारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराई दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने उनले बताएका छन्।

उल्लेखनीय छ, सरकारले हिजो मात्र पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। त्यसलगत्तै देशका केही स्थानमा इन्धन बिक्री रोकिएको तथा कृत्रिम अभाव सिर्जना गरिएको भन्ने गुनासो सार्वजनिक हुन थालेपछि यस विषयले व्यापक चासो पाएको छ।