काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको सदस्यता तथ्याङ्कलाई लिएर १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गरी पार्टीले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सदस्य बनाउने नीति, अभ्यास वा संस्थागत उद्देश्य नरहेको स्पष्ट पारेको छ।
रास्वपाले पार्टीको डिजिटल सदस्यता प्रणालीमा ‘आवेदन’, ‘प्रमाणीकरण’ र ‘अन्तिम स्वीकृति’ फरक–फरक प्रक्रिया भएको उल्लेख गर्दै महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क प्रमाणित सदस्यहरूको नभई प्रारम्भिक आवेदनको समष्टिगत विश्लेषण मात्र भएको जनाएको छ।
सदस्यता आवेदनका क्रममा विक्रम संवत् र इस्वी संवत् पात्रो छनोटमा भएको गल्ती, जन्ममिति टाइप गर्दा भएका त्रुटि वा हालकै मिति प्रविष्ट गरिएका कारण केही आवेदकको उमेर वास्तविकभन्दा कम देखिएको प्रारम्भिक अध्ययनबाट खुलेको रास्वपाले दाबी गरेको छ।
रास्वपाकाअनुसार हालसम्म डिजिटल प्रणालीमा दर्ता भएका ५ लाख २३ हजार ४६५ सदस्यता आवेदनमध्ये ३ लाख ९० हजार ११२ जनाको विवरण नागरिकतालगायत आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ भने बाँकी आवेदन प्रमाणीकरणको प्रक्रियामा छन्।
रास्वपाले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरेको जानकारी दिँदै अबदेखि १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई स्वतः रोक्ने प्रणाली लागू गर्ने, प्रमाणीकरण भएका अभिलेखको पुनः परीक्षण गर्ने, गल्तीवश स्वीकृत भएका सदस्यता खारेज गर्ने तथा विक्रम संवत–इस्वी संवत् सम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक सुधार गर्ने जनाएको छ।
पार्टीले पर्याप्त परीक्षण र प्रमाणीकरण नभएको प्रारम्भिक तथ्याङ्क महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा आमनागरिक, सञ्चारमाध्यम र सरोकारवालामा भ्रम उत्पन्न भएको स्वीकार गर्दै त्यसप्रति दुःख व्यक्त गरेको छ। साथै सम्पूर्ण विवरण पुनः परीक्षण गरी संशोधित तथा अद्यावधिक सदस्यता तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।
रास्वपाले संविधान, कानुन, विधिको शासन, सुशासन र पारदर्शिताप्रति आफू सधैं प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत दोहोर्याएको छ।