मौसम
एल निनो ‘सुपर एल निनो चरण’मा विकास भइरहेको कारण मनसुन कमजोर
दुई दिनअघि मात्र १६ असारमा जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन जारी गर्दै मनसुन देशैभर फैलिसकेको जनाएको थियो। तर, पानी त परिरहेको छ, मनसुन नै भन्न मिल्ने गरी पर्याप्त पानी भने परेको छैन।
“यो रोपाइँको सिजन भएकाले हामीले जुन मात्राको वर्षा अपेक्षा गरेका हुन्छौँ, त्यस्तो वर्षा छैन, खण्डवृष्टि चलिरहेको छ,” विभागकी प्रवक्ता विभूति पोखरेल भन्छिन्। कुनै स्थानमा वर्षा हुनु र कुनैमा नहुनुलाई खण्डवृष्टि भनिन्छ। खण्डवृष्टिको यो अवस्था अब दुईतीन दिनसम्म रहने अधिक सम्भावना रहेको उनको भनाइ छ। “सबैतिर राम्रो वर्षा गराउने खालको प्रणाली तत्काल देखिएको छैन,” उनी भन्छिन्।
विभागले गरेको पछिल्लो २४ घण्टाको मौसम विश्लेषणअनुसार देशका अधिकांश भूभागमा पानी परेको छ। पश्चिम नेपालको दोधारा, धनगढीलगायत केही स्थानमा भारी वर्षासमेत भएको छ। तर, देशैभर खेतीबालीलाई पर्याप्त हुने गरी वर्षा नहुँदा किसान चिन्तित छन्। ‘मानो रोपेर मुरी उब्जाउने’ बेला वर्षा नभएपछि अकासे पानीको भरमा खेती गर्ने किसान बढी मारमा छन्।
जल तथा मौसम विज्ञान विभागले यसअघि नै मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने पूर्वानुमान गरेको थियो। नेपालमा मनसुनमा सरदर १५७०.४ मिलिमिटर वर्षा हुन्छ। यस्तै, मनसुनसमेत सरदरभन्दा ढिला भित्रिएको थियो।
वर्षा पश्चिममा अलि बढी सक्रिय देखिँदा पूर्वी तराईमा पूरै सुक्खा छ। ‘अर्को हप्ता नभई राम्रो वर्षा हुने देखिँदैन,’ मौसमविद् विनोद पोखरेलले बिहीबार बिहान फेसबुकमा लेखेका छन्। उनले हाल एल निनो चरण ‘सुपर एल निनो’ मा विकसित भइरहेको उल्लेख गर्दै मनसुन झन् कमजोर हुने संकेत गरेका छन्।

प्रशान्त महासागरमा विकशित हुँदै गरेको एल निनोले पृथ्वीमा वृद्धि गरेको तापक्रम दर। तस्बिर : एपीएफ/ गेट्टी इमेज
प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा तातो हुने अवस्थालाई एल निनो भनिन्छ। यो प्राकृतिक जलवायु चक्र भए पनि अधिक तापक्रम वृद्धिले गर्दा पृथ्वीको वायुमण्डलीय प्रणाली नै प्रभावित हुन्छ। दुई डिग्री सेल्सियसभन्दा बढीको तापमान वृद्धिलाई सुपर एल निनो भनिन्छ। “एल निनोले विश्वव्यापी तापक्रम, वर्षा र हावापानीको ढाँचामा फेरबदल ल्याउँछ। मनसुनमा यसको प्रभावले नेपालसहित दक्षिण एसियामा कम पानी पार्छ,” त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल भन्छन्, “मनसुनी वर्षा कमजोर हुँदा खडेरी पर्ने र गर्मी चर्किने भएपछि यसपालि कृषि उत्पादनदेखि समग्र जनजीवनमा असर पर्ने देखिन्छ।”
नेपालमा सन् १९७० यता बर्सेनि ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको छ। हालैका समयमा तापक्रम बढेर बिहान १० बजेतिरै ३५ डिग्री सेल्सियसमा उक्लिन थालेको वातावरणीय क्षेत्रमा काम गर्ने संस्था क्रिएसन नेपालले जनाएको छ। तराईका अधिकांश भूभागमा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियस पुगेको हुन्छ भने कहिलेकाहीँ ४५ डिग्री सेल्सियस नै नाघ्न थालेको छ।
नेपालमा मनसुन सरदर ३० जेठमा भित्रिएर १६ असोज (जुन-सेप्टेम्बर)सम्म सक्रिय रहन्छ। वर्षभरि पर्ने पानीमध्ये करिब ८० प्रतिशत यही अवधिमा पर्छ। तर, एल निनो वर्षमा भने मनसुन ढिला भित्रिने र चाँडै बाहिरिनेसमेत हुन्छ। विभागका अनुसार यसअघि पनि एल निनो प्रभाव देखिएका वर्षहरू सन् २०१६, २०१९ र २०२३ मा नेपालमा मनसुन सरदरभन्दा ढिलो भित्रिएको थियो। सन् १९७२ देखि २०२३ सम्मका ११ वटा एल निनो वर्षमध्ये सन् १९८२ को मनसुन अवधि हालसम्मकै छोटो ८६ दिनको थियो।
यसपालिको मनसुन सरदरभन्दा ६ दिन ढिला गरेर ५ असारमा पूर्व हुँदै प्रवेश गरेको थियो। कमजोर मौसमी प्रणाली भएकाले ८ असारपछि मात्रै कोसी प्रदेशका सबै भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानमा विस्तार भयो।
नेपालमा मनसुन साधारणतया ३० जेठमा पूर्वी भेगबाट प्रवेश गरेर एक साताभित्र देशैभर विस्तार हुने गरेको छ।
विश्व मौसम विज्ञान संगठनका अनुसार हालैका पूर्वानुमानहरूले यो जुनदेखि अगस्टसम्म एल निनो प्रभाव देखिने सम्भावना ८० प्रतिशत रहेको देखाएका छन्। एल निनो औसतमा हरेक दुई वर्षदेखि सात वर्षमा देखा पर्छ। र, सामान्यतया नौदेखि १२ महिनासम्म रहन्छ।