बालसाहित्य
ए पछि बी किन भयो, अरू पनि त हुन सक्थ्यो? कपछि ख किन भयो, अरू पनि त हुन सक्थ्यो?
साथीहरू, यी प्रश्न मैले सानैमा लेख्दै र थप्दै बनाएको हुँ। म बाबालाई प्रश्न सोध्थेँ। तर, उहाँ गुड कोइस्चन मात्र भन्ने। जवाफ नै नदिने। पछि उहाँले भन्नुभयो, तिम्रा सबै प्रश्न लेख। एक दिन म साइन्टिस्ट भेटाइदिन्छु। त्यहीँ गएर सोध्ने।
त्यसपछि मैले प्रश्नहरू कपीमा लेख्न थालेँ। कति प्रश्नको मैले जवाफ पाइसकेँ। कति प्रश्नको म ठूलो भएपछि जवाफ खोज्नेछु। हामीले राम्ररी खोजेर पढ्यौँ भने जवाफ पाउने रहेछौँ। नेपालका एक वैज्ञानिक तीर्थबहादुर श्रेष्ठलाई मैले ३ मे २०२५ मा एउटा मेल पठाएको थिएँ। उहाँले मलाई जवाफ पठाउँछु भनेर रिप्लाई पनि गर्नुभएको छ। मैले पठाएका प्रश्न तपाईं र तपाईंका भाइबहिनीका मनमा पनि आउन सक्छन् ।
मैले उहाँलाई पठाएको इमेल यस्तो थियो :
तीर्थबहादुर हजुरबुवा, नमस्कार।
मैले हजुरले लेख्नुभएको बालविज्ञान पुस्तक धेरै पटक पढेँ। एकदमै मन पर्यो। म वैज्ञानिक बन्न चाहन्छु। मैले तपाईंको किताबमा नभेटेका केही प्रश्न पठाएको छु। कृपया, जवाफ दिनुहोला है।

तीर्थबहादुर श्रेष्ठ। तस्बिर स्रोत : यूट्युब
केटा मान्छेहरूको कसरी दारी आउँछ र केटी मान्छेको किन आउँदैन? कपी र पेपर कसरी बन्छ? कुनै कुनै बोटलमा पानी देखिन्छ र कुनै कुनैमा देखिँदैन, किन? हावा कसरी चल्छ? मान्छेहरू कसरी ठूलो बन्छन्? के मान्छेहरू ठूलो बनेपछि सानो बन्छन्? सानो मान्छेले ठूलो मान्छेका लागि लेखिएको किताब कसरी पढ्ने?
पानी परेको बेला छाता ओढ्ने कि रेनकोट? नाकबाट थुक र मुखबाट सिँगान किन आउँदैन? सिँगान कसरी बन्छ? थुक खान हुन्छ, सिँगान किन हुँदैन?
मेरो नाम किन संस्कृत भयो? मेरो अरू नाम पनि त हुन सक्थ्यो होला? सानो खरायोले ठूलो सिंहलाई कसरी जित्न सक्यो? स्विच अन गर्दा कसरी बत्ती बल्छ? इन्टरनेट कसरी चल्छ? धनुषामा बोलेको काठमाडौँमा कसरी सुनिन्छ?
म्युजिक कसरी कम्पोज गरिन्छ? बच्चाहरू सानोमा चारवटा खुट्टाले हिँड्छन् तर ठूलो भएपछि दुईवटा खुट्टाले कसरी हिँड्छन्? सपना किन देखिन्छ? ल्यापटपमा कसरी लेखिन्छ? संसारमा कतिवटा भाषा छन्? भाषा कसरी बन्छन् होला? एउटा मान्छेले बढीमा कतिवटा भाषा बोल्न सक्छ होला? एउटै भाषा नजान्ने मान्छे पनि कोही हुन्छ र? नेपाली बच्चालाई चाइनिज र चाइनिज बच्चालाई नेपाली बोल्न किन गाह्रो हुन्छ?
के ब्रह्माण्डको अन्त्य छ? ब्रह्माण्डमा कतिवटा आकाशगंगा छन्? हाम्रो हातखुट्टामा रौँ हुन्छ तर हत्केला र पैतालामा किन हुँदैन? सबै सजीवका बच्चाहरू किन प्यारा देखिन्छन्? तर सजीवहरू ठूलो भएपछि किन प्यारा देखिँदैनन्?
कपाल पहिला कालो पछि सेतो कसरी हुन्छ? कपाल र नङ काट्दा किन दुख्दैन? हामीलाई मोबाइल हेर्दाखेरि एक घण्टा पनि किन एक मिनेट जस्तो लाग्छ तर काम गर्दाखेरि एक मिनेट पनि एक घण्टा जस्तो किन लाग्छ? किन हाम्रो हातका औँला वरिपरि साना बीचमा ठूला हुन्छन् तर खुट्टाका औँला ठूलोदेखि सानो हुन्छन्, किन?
बच्चा कसरी जन्मिन्छ? बच्चा किन जन्मिन्छ? छोरा र छोरी कसरी बन्छ? गे भनेको के हो?
किन ग्रहहरू खस्दैनन्? किताबमा फोटो भएका बच्चाहरूले किताब पढ्छन् कि पढ्दैनन्?
सबैभन्दा राम्रो उमेर कसको हो? मान्छे मरेपछि कहाँ जान्छ? मान्छे किन मर्छ?
फूलहरू कसरी धेरै रङका हुन्छन्? त्यो फूल किन सधैँ एउटै रङको हुन्छ? चराहरू किन एउटै कुरा बोल्छन्? रुखहरूले कसरी सास फेर्छन्? रुखहरूका छोराछोरी, बुवाआमा, दाजुभाइ, दिदीबहिनी हुन्छन् कि हुँदैनन्? हुन्छन् भने कसरी चिन्छन्? के रुखहरूले कुरा गर्छन्? हिमालमा पाइने रुख किन अरूतिर पाइँदैन?
मानिसलाई सधैँ प्यारो लाग्ने रुख कुन हो? बर र पिपलको बिहे किन गरिदिन्छन्? फूलहरूको पेटल्स किन पातलो हुन्छ? फूलहरू किन आफ्नो सिजनमा मात्र फुल्छन्?
के ब्रह्माण्डको अन्त्य छ? ब्रह्माण्डमा कतिवटा आकाशगंगा छन्? हाम्रो हातखुट्टामा रौँ हुन्छ तर हत्केला र पैतालामा किन हुँदैन? सबै सजीवका बच्चाहरू किन प्यारा देखिन्छन्? तर सजीवहरू ठूलो भएपछि किन प्यारा देखिँदैनन्?
ए पछि बी किन भयो, अरू पनि त हुन सक्थ्यो? कपछि ख किन भयो, अरू पनि त हुन सक्थ्यो? आइतबारपछि मंगलबार किन भएन होला? अन्टार्कटिका महादेश हो कि देश?
हामीले हाछ्युँ गर्दा हाम्रा आँखा किन बन्द हुन्छन्? यदि हिमाल माथि छ भने सूर्यभन्दा नजिक पनि त छ होला तर किन हिमालमा चिसो हुन्छ?
सबै प्रश्नको उत्तर कोसँग हुन्छ?
(गत १६ असारमा सार्वजनिक भएको आचार्यको पुस्तक सहरका हामी केटाकेटीबाटसाभार)