दृष्टिकोण
जसरी पनि ‘विकास’ गर्ने जोडबलमा मैयुङको डाँडैडाँडा सडक बनाउन मुन्दुम पदमार्गको मुख्य भूमिमा डोजर चलाउन खोजिँदै छ।
गत फागुनको संसदीय चुनाव सकिनासाथ भोजपुरको षडानन्द नगरपालिकातर्फबाट साउने चुलीमै डोजर पुग्न लागेको खबर त्यसमुनिका अरू गाउँहरूमा फैलियो। षडानन्द नगरपालिका-९ को तालखर्कबाट सडक खन्दै चुलीतिर डोजर उकालो लागेको थियो। यो ठाउँ कति संवेदनशील हो भन्ने ख्यालै नगरी डोजरका सञ्चालकहरू मोटरबाटै मैयुङ वारपार गर्ने सपना पूरा हुन लागेको बताउँदै दंग थिए।
साउने चुली एक दशकदेखि निर्माण र प्रवर्द्धन भइरहेको मुन्दुम पदमार्गको मुख्य भूमिमा पर्ने घाँसे चुचुरो हो। समुद्री सतहबाट तीन हजार ३३३ मिटर अग्लो यस डाँडालाई प्राकृतिक भ्युटावर भन्न सकिन्छ। यो डाँडाका अनेक परिचय र विशेषता छन्। यो ठाउँ सांस्कृतिक रूपमा भोजपुर र खोटाङका किरात राईहरूको मुन्दुमीस्थल हो। मुन्दुमी मिथकअनुसार किरात र नागा जातिको संयुक्त पवित्र पूजास्थल हो। सामाजिक रूपमा त्यस भेगको प्रसिद्ध राँके बजार लाग्ने ठाउँ हो। आध्यात्मिक रूपमा सन्तहरूको ध्यानस्थल हो। चौँरी र भेडाहरूले अत्यन्तै मन पराउने चरन क्षेत्र हो। जैविक रूपमा दर्जनौँ खाले दुर्लभ हिमाली तथा पहाडी जडीबुटीहरूको प्राकृतिक भण्डार हो।
यस सेरोफेरोका क्षेत्रहरू सिलिचोङ-साल्पा-लौरे-मैयुङ-मेरुङ र पखुवासम्मका भूभागमा सडक सञ्जाल नपुर्याउने, ठूल्ठूला संरचनाहरू नबनाउने, भौतिक संरचनाहरू बनाउँदा स्थानीय संस्कृति झल्किने र वातावरणमैत्री बनाउने, पशुपालनलाई प्रोत्साहन गर्ने, गोठहरूलाई पर्यटनमैत्री बनाउनेलगायत उद्देश्य र नीतिहरूलाई केन्द्रमा राखेर पदमार्गको रेखांकन भएको थियो। सोहीअनुसार तीनवटै तहका सरकार र विदेशी सहयोगबाट पूर्वाधार निर्माणको काम जारी छ। यो क्षेत्र पदयात्रा रुचाउनेहरूको रोजाइमा पर्दै आएको छ।
त्यस्तो ठाउँमा पहाड भत्काउँदै डोजर सरासर चुलीतिर उकालो चढिरहेको खबर शुभ थिएन। सबैतिरबाट विरोध भएपछि साउने चुलीको केही तलबाट डोजर फर्कियो। त्यसरी फर्किएको डोजर सधैँका लागि फर्किएको होइन, अनुकूल परिस्थिति देख्नासाथ चुलीतिर उक्लिइहाल्ने हो। जसरी पनि ‘विकास’ चाहिएको छ! विकास भनेको चाहिँ मैयुङको डाँडैडाँडा पशुपक्षीहरूको सातो लिँदै मोटर चल्नु हो।
आरिसे प्रवृत्ति
गत आर्थिक वर्ष संघीय सरकारको बजेटमा पाङखाङ सडक शीर्षकमा तीन करोड रुपैयाँ विनियोजन भयो। बजेट कुन सडकमा लगाउने भन्ने प्रस्ट थिएन। गाउँमा सल्लाह भयो– गाउँबाट मैयुङतिर नयाँ सडक बनाउँदै जाने। टेम्केमैयुङ गाउँपालिकामा रहेको मैयुङ मुन्दुम पदमार्गको मुख्य क्षेत्र हो। मुन्दुम पदमार्गलाई सडकले प्रभाव पार्नु हुँदैन, मैयुङमा सडक पुर्याउनु भनेको यो ठाउँको आत्मा सकिनु हो भन्ने गरिएको छ। यो कुरा सबैले बुझेकै हो, तर प्रश्न उठ्यो– रिमचिमबाट धोत्रे पुग्न हुने, सुम्लिखाबाट एकराते पुग्न हुने, पाङखाङबाट तरुलबारी पुग्न किन नहुने?
तरुलबारी नामको गोठ खर्क मुन्दुम पदमार्गबाट करिब एक किलोमिटर दूरीमा पर्छ। साविकको वडा नं. ३ का मानिसहरूको मत पनि विभाजित भयो। सावातिरका अधिकांशको भनाइ पाङखाङ सिरान गुफाडाँडादेखि मास्तिर एक पाइला पनि सडक बनाउनु हुँदैन भन्ने भयो। उनीहरूको चिन्ता थियो, सावामा स्थापना भएर घिटीघिटी चल्दै गरेको होमस्टे सुक्छ।
प्राकृतिक सम्पदालाई जोगाउने कुरा सुन्दा रमाइलो लागे पनि व्यवहारमा अमूर्त छ। मुन्दुम पदमार्गलाई व्यापक बनाउँदै जाने कुरा र मुन्दुम पदमार्गलाई काटेर वा छुवाएर सडक कुदाउने प्रतिस्पर्धा सँगसँगै चलिरहेको छ।
यस्तै, चखिया र त्यस आसपासका व्यवसायीहरूलाई पाङखाङबाट सडक मास्तिर लागेमा मुन्दुम पदमार्ग ताकेर तराईबाट आउनेहरू सेतीबगरबाटै छुट्टिएर उतै उक्लिन्छन् र आफूहरूको व्यापार चौपट होला भन्ने पीर भयो। उता पाङखाङतिरका मानिसहरूको भनाइको सार थियो, ‘हामीले मैयुङमै सडक पुर्याउने भनेका छैनौँ। मैयुङभन्दा तलसम्म मात्रै खन्ने हो। मैयुङलाई बचाउनुपर्छ भन्ने कुरा अरूलाई भन्दा हामीलाई राम्ररी थाहा छ।’
डोजर तरुलबारी ताकेर झाडी फाँड्दै, माटो खन्दै उकालो लाग्यो। जिल्ला वन कार्यालय भोजपुरमा पाङखाङमा व्यापक वन विनाश हुँदै छ भनेर बेनामे उजुरी पर्यो। वन कार्यालयको आदेशले डोजर चल्न रोकियो। सदरमुकाममा सबै पक्षको छलफलबाट सहमति भयो, सडक खन्ने नै, तर तरुलबारीसम्म नभई त्यसभन्दा तलको गोठ खर्क वैशाखेसम्म मात्रै। तरुलबारीसम्म साढे ६ किलोमिटर हुन्थ्यो, वैशाखेसम्म पाँच किलोमिटर हुने भयो। अहिले वैशाखेसम्म ट्र्याक खनिइसकिएको छ। अब स्तरोन्नतिको खेती सुरु हुन्छ, वर्षैपिच्छे चल्छ। मानौँ भैँसी ब्यायो, बाँचुन्जेल दूध दिइरहन्छ।
भोजपुर र सोलुखुम्बु सिमाना नजिकैको साल्पादेखि भोजपुर र खोटाङबीचको तावाभन्ज्याङसम्मका नौवटै पालिकाका हरेकजसो टोलबाट मुन्दुम पदमार्गका नवनिर्मित ढुंगे सिँढी र चौताराहरू भत्काउने गरी डोजरहरू उकालो लागिरहेकै छन्। मुन्दुम पदमार्गको अवधारणा आउनुअघि नै चखिया हुँदै मध्यपहाडी लोकमार्ग गएकाले चखिया मुन्दुम पदमार्गको प्रमुख प्रवेशद्वार भयो। बजारीकरण पनि भयो। पदमार्गको रेखांकन भइसकेपछि बीच भागबाट रिमचिम-छिमालुङ-सुम्दे सडक खोलियो।
मुन्दुम पदमार्गलाई जोगाउने र अनन्त कालसम्म बचाइराख्ने हो भने त्यस भेगमा बन्ने हरेक भौतिक संरचनाको प्रस्ट मापदण्ड बनाउनुपर्छ। टेम्केमैयुङ गाउँपालिकाले बनाए जस्तो कसैले नसुन्ने र जनप्रतिनिधिले नै नमान्ने मापदण्ड हुनु हुँदैन।
टेम्केमैयुङको सुम्लिखादेखि पखुवा हुँदै षडानन्दको सुर्के र भोजपुरतिर जाने सडक पनि खुलिसकेको छ। यसले पखुवा, देउसे, चौतारामा पदमार्गलाई काटेको छ। यिनलाई खासै विवादको विषय बनाइएन। किनभने, खासगरी मैयुङ-साल्पा क्षेत्रलाई प्राकृतिक अवस्थामै बचाउन खोजिएको हो। पदमार्गको प्रमुख क्षेत्र पनि यिनै हुन्। अहिलेसम्म सडक निर्माणको आक्रमणबाट यो क्षेत्र बचेको छ।
तर, साउने चुलीमै डोजर पुग्ने भएपछि विवादित भयो। बलौटे भन्ज्याङ, रावाधाप ताकेर डोजरहरू तल्ला गाउँहरूबाट उकालो लागिसकेका छन्। उहीँ पुग्छन् कि तलतिरै रोकिन्छन् भन्ने कुरा माथिल्लो भेगका बासिन्दाको मुन्दुमी चेतनाले जित्छ कि द्रव्य चेतनाले जित्छ भन्नेमा भर पर्छ।
एउटा गाउँबाट मास्तिर डोजरले खन्दै जाने र अर्को गाउँकाले विरोध गर्ने, उजुरबाजुर गर्ने प्रवृत्ति यी क्षेत्रमा बढेको छ। सडक खन्नेहरू पूर्वाधार आवश्यकताको कुरा गर्छन्, विरोध गर्नेहरू प्रकृतिप्रेमी देखिन खोज्छन्। तर, प्रवृत्ति दुवै पक्षको एउटै हुन्छ, आरिस। आफूले उताकाले जे गर्छ त्यही गर्नुपर्ने, आफूले जे गरेको छ त्यो उताकालाई गर्न नदिने। एकथरीमा उताकाले माथिसम्म सडक पुर्याइसके, हामी चाहिँ तलै बस्नुपर्छ भन्ने के छ भन्ने मानसिकता देखिन्छ। अर्कोथरीको पिरलो छ– उताको सडक चल्ती भयो भने हामी पछि पर्छौं, मान्छेहरू उतैबाट जान्छन् र हाम्रोतिर सुक्छ। अनि गाउँमै एकआपसमा बिचौलिया र दलाल देख्ने, आरोप-प्रत्यारोप लगाउने होड पनि सडक विवादसँगै चलेको छ।
छैन मापदण्ड
प्राकृतिक सम्पदालाई जोगाउने कुरा सुन्दा रमाइलो लागे पनि व्यवहारमा अमूर्त छ। मुन्दुम पदमार्गलाई व्यापक बनाउँदै जाने कुरा र मुन्दुम पदमार्गलाई काटेर वा छुवाएर सडक कुदाउने प्रतिस्पर्धा सँगसँगै चलिरहेको छ। मुन्दुम पदमार्गले छोएका पालिकाहरूले कहाँसम्म, कति दूरीसम्म सडक पुर्याउने भन्ने कुनै एकीकृत मापदण्ड बनाएका छैनन्।
टेम्केमैयुङ गाउँपालिकाले भने मुन्दुम पदमार्गदेखि तीन किलोमिटर टाढासम्म मात्रै सडक पुर्याउने मापदण्ड बनाएको थियो। त्यसमा पनि हवाई दूरी हो कि उबडखाबडसहितको जमिनको दूरी हो, स्पष्ट थिएन। त्यही गाउँपालिकामा माथि माथिसम्म सडक पुर्याउने होड चलेको छ।
अहिले मुन्दुम पदमार्गलाई बुझेका धेरै जनाभित्र द्रव्यचक्षु चलमलाइरहेको छ। अभियन्ताको पहिचान बनाएकाहरू पनि हर्पेको घिउ निकाल्न औँला बंग्याउँदै छन्।
उता, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले त केही वर्षअघि साल्पादेखि डाँडैडाँडा उदयपुरको बेलटारसम्म सडक बनाउने प्रस्ताव ल्याएको थियो। सडकको बीचमा मान्छे बोकेर मोटर गुड्ने, किनारामा झोला बोकेर पदयात्रीहरू हिँड्ने। यातायातको पहुँच पनि पुग्ने, मुन्दुम पदमार्ग पनि प्रवर्द्धन हुने। मान्छेको रुचि र रोजाइको सम्बोधन पनि हुने। त्यो प्रस्ताव बोकेर बृहत् सर्वेक्षणका लागि बजेट पार्न त्यस क्षेत्रका प्रदेश सांसदहरू र केही पालिका प्रमुखको दौडधुप पनि चलेको थियो। तर, अरू केही पालिका र मुन्दुम पदमार्ग अभियन्ताहरूको विरोधपछि त्यो प्रस्ताव थाती रह्यो।
मुन्दुम पदमार्गलाई जोगाउने र अनन्त कालसम्म बचाइराख्ने हो भने त्यस भेगमा बन्ने हरेक भौतिक संरचनाको प्रस्ट मापदण्ड बनाउनुपर्छ। जसमध्ये सडकसम्बन्धी मापदण्ड बढी जरुरी छ। त्यसलाई कडाइका साथ लागु गरिनुपर्छ। टेम्केमैयुङ गाउँपालिकाले बनाए जस्तो कसैले नसुन्ने र जनप्रतिनिधिले नै नमान्ने मापदण्ड हुनु हुँदैन। अहिले मुन्दुम पदमार्गलाई बुझेका धेरै जनाभित्र द्रव्यचक्षु चलमलाइरहेको छ। अभियन्ताको पहिचान बनाएकाहरू पनि हर्पेको घिउ निकाल्न औँला बंग्याउँदै छन्।