सेयरबजार
सेयरबजारमा साढे तीन अर्बको कारोबार
काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: २६.२९ अंकले घटेर बन्द भयो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आज ०.९९ प्रतिशतले घट्दै नेप्से २६२७.११ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.५३ अंकले घटेर ४५६.२७ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.७६ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.९५ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८६ प्रतिशतले घटेको छ।
सेयरबजारमा सोमबार ३५६ कम्पनीको ४६ हजार २४६ पटकको कारोबारमा ७५ लाख ४० हजार ४१८ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँको कारोबार भयो।
सेयर बजारमा आज ३४ कम्पनीका मात्र सेयरमूल्य बढे। २३९ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा चार कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (सोमबार) १३ समूहको कारोबार भएकामा सबै समूहका सूचक घट्दै राताम्मे बने।
जसअनुसार नेप्सेमा बिहीबार वाणिज्य बैंक १.०६‚ विकास बैंक ०.३०‚ फाइनान्स १.२४‚ होटेल तथा पर्यटन ०.७८‚ जलविद्युत् ०.९८‚ लगानी ०.७२ र जीवन बिमा समूहको सूचक ०.६९ प्रतिशतले ओरालो लागे। यसैगरी उत्पादन तथा प्रशोधन १.१७‚ लघुवित्त ०.८९‚ म्युचुअल फन्ड ०.३५‚ निर्जीवन बिमा ०.९८‚ अन्य ०.५२ र व्यापार समूहको उपसूचक ३.१५ प्रतिशले घट्यो।

नेप्सेमा सोमबार स्नो रिभर्स लिमिडेट र सानीगाड हाइड्रो लिमिटेडका लगानीकर्ताले समान १४.९९ प्रतिशतले आम्दानी गरे। थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १३.७९ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज एनआईएमबी डिबेन्चर अग्रस्थानमा रह्यो। सोमबार यसको ५३ करोड ९४ लाख ५२ हजार ६९२ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज एनआईएमबीको डिबेन्चर अगाडि रह्यो। सोमबार यसको चार लाख ८६ हजार ४३ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता १११० रुपैयाँ कायम रह्यो।