सेयरबजार
सेयरबजारमा सवा चार अर्बको कारोबार
काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) नेप्से एकल अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ८.७८ अंकले बढेर बन्द भयो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
नेप्से अघिल्लो साता पूरै पाँच कारोबार दिन घटेको थियो। हिजो (बुधबार) नेप्से ४४.५९ अंकले बढेको थियो। मंगलबार २४.६३ अंकले घटेको थियो भने सोमबार पनि १६.५४ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.३३ प्रतिशतले बढ्दै नेप्से २६६१.७१ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.८९ अंकले बढेर ४६२.४७ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.८५ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.५४ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८९ प्रतिशतले घटेको छ।
सेयरबजारमा बिहीबार ३५९ कम्पनीको ४३ हजार १३१ पटकको कारोबारमा ८९ लाख ६४ हजार २२३ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार चार अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँको कारोबार भयो। बुधबार भने तीन अर्ब ८५ करोड ६७ लाख पाँच हजार ८५० रुपैयाँको कारोबार भएको थियो। यस्तै मंगलबार तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको थियो भने सोमबार दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज १०८ कम्पनीका सेयरमूल्य बढे। १५२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १३ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बिहीबार) १३ समूहको कारोबार भएकामा पाँच समूहका सूचक बढ्दा बाँकी आठ समूहका सूचक घटे।
जसअनुसार नेप्सेमा बिहीबार वाणिज्य बैंक समूहको सूचक २.०४ प्रतिशतले बढ्यो। विकास बैंक समूहको सूचक ०.११ प्रतिशतले घट्दा फाइनान्स समूहको सूचक ०.२८ प्रतिशतले बढ्यो।

यस्तै होटेल तथा पर्यटन ०.१३‚ जलविद्युत् ०.२६ र लगानी समूहको सूचक ०.०३ प्रतिशतले घट्दा जीवन बिमा समूहको सूचक भने ०.१६ प्रतिशतले बढ्यो। उत्पादन तथा प्रशोधन समूहको सूचक ०.८६ प्रतिशतले घट्दा लघुवित्त ०.०५ र म्युचुअल फन्ड समूहको सूचक ०.०६ प्रतिशतले उकालो लागे।
यसैगरी निर्जीवन बिमा ०.३४‚ अन्य ०.२० र व्यापार समूहको उपसूचक ०.५० प्रतिशले घट्यो।
नेप्सेमा बिहीबार अपर लोहोरेखोला हाइड्रोपावर कम्पनी लिमिटेड र कालंगा हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात् अपर लोहोरे खोला र कालंगाको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। एनआईसी एसियाको डिबेन्चरका लगानीकर्ताले १०.६० प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक लिमिटेड अग्रस्थानमा रह्यो। बिहीबार यसको ४१ करोड ३२ लाख २४ हजार ६६१ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज लक्ष्मी सनराइज बैंक लिमिटेड नै अगाडि रह्यो। बिहीबार यसको १९ लाख १७ हजार ५७० कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता २२२ रुपैयाँ कायम रह्यो।