काठमाडौँ। नेपाल रेडक्रसका पदाधिकारी, सदस्य तथा कर्मचारीले रेडक्रस चिह्न अंकित सवारीसाधन, एम्बुलेन्स र चिह्नको दुरुपयोग वा अनधिकृत प्रयोग गरेको पाइए कारबाही हुने भएको छ।
रेडक्रस केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्दै संस्थाको अनुरोधलाई बेवास्ता गरी दुरुपयोग गरेको पाइए प्रचलित विधान, नियमावली तथा आचारसंहिताबमोजिम कारबाही हुने केन्द्रीय तदर्थ कार्यसमिति अध्यक्ष विशाल भण्डारीले बताए।
“व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक, राजनीतिक वा अन्य कुनै गैरसंस्थागत प्रयोजनमा यस्ता सवारीसाधन एम्बुलेन्स तथा रेडक्रस चिह्नको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ,” अध्यक्ष भण्डारी भन्छन्, “रेडक्रसका पदाधिकारी, सदस्य तथा कर्मचारीले रेडक्रस चिह्न अंकित सवारीसाधन, एम्बुलेन्स र रेडक्रस चिह्नको दुरुपयोग वा अनधिकृत रूपले प्रयोग गरेको तथ्य प्रमाणसहित जोकसैले रेडक्रसको इमेल [email protected], ह्वाट्सएप ९७४१६९५०९७ वा नेरेसोको फेसबुक पेजको म्यासेन्जरमा उजुरी गर्न सक्नेछ।”
रेडक्रस चिह्न अंकित सवारीसाधन कुनै पनि पदाधिकारी तथा सदस्य एवं कर्मचारीहरूले मानवीय सेवामा र कार्यालय प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने हुन्छ।
