यसरी पर्यो गिरोह फन्दामा‚ एउटा फोटो स्टुडियोभित्रै नक्कली सरकारी कागजातको ‘कारखाना’
विराटनगर। सप्तरीको डाँढा स्थायी घर भई विराटनगर १४ मा डेरा गरी बस्ने ३० वर्षीया मनीषाकुमारी कामत श्रीमानको मृत्युपछि दुई सन्तानको लालनपालनको भारी एक्लै बोकिरहेकी थिइन्। एकल महिला भत्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउन २४ असारमा उनी जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन् र नागरिकता फाँटमा आफ्नो प्रमाणपत्र पेस गरिन्।
तर प्रशासनका कर्मचारीले उनको नागरिकतामा शंका गरे। सूक्ष्म जाँच गर्दा पत्ता लाग्यो- उनले बोकेको नागरिकता कुनै सरकारी अड्डाबाट जारी भएको होइन, बरु विराटनगरकै एक फोटो स्टुडियोमा तयार पारिएको ‘नक्कली’ दस्ताबेज थियो। यही एउटा घटनाले विराटनगरमा लामो समयदेखि जरो गाडेर बसेको सरकारी कागजात किर्ते गर्ने एउटा ठूलो गिरोहको पर्दाफास गरिदिएको छ।
मनीषाको बाध्यता र गिरोहको जाल
मनीषाको जीवनसंघर्ष पीडादायी छ। ११ वर्षअघि सुजन मण्डलसँग विवाह गरेकी मनीषाका दुई सन्तान छन्। पाँच वर्षअघि श्रीमानको पानीमा डुबेर मृत्यु भएपछि उनी साहाराविहीन बनिन्। माइतीमा बुबाले नागरिकता बनाउन सहयोग गरेनन्। आमा अर्कै विवाह गरेर हिँडिसकेकी थिइन्।
“म पढेलेखेकी छैन। नागरिकता नहुँदा न त श्रीमानको मृत्युपछि पाउने सुविधा पाएँ, न छोराछोरीको जन्मदर्ता नै गर्न सकें,” मनीषाले प्रहरीसमक्ष आँसु झार्दै भनिन्, “यही बाध्यताको फाइदा छिमेकी अशोककुमार श्रेष्ठले उठाए। उनले नागरिकता बनाइदिने लोभ देखाएर मलाई जालमा पारे।”
अशोकले मनीषा र उनका मामा सत्यनारायण कामतको समेत नागरिकता बनाइदिने भन्दै मोटो रकम माग गरे। अशिक्षित मनीषाले आफ्नो गाँस काटेर जम्मा गरेको एक लाख ३० हजार रुपैयाँ पटक-पटक गरी अशोकलाई बुझाइन्। रकम बुझाएपछि विराटनगर ११‚ महेन्द्र चोकस्थित ‘न्यु डोली फोटो सर्भिसेज’ बाट उनलाई नक्कली नागरिकता थमाइयो। गिरोहले उनलाई ‘३५ दिनसम्म कसैलाई नदेखाउनू’ भन्दै तर्साएको पनि थियो। तर भत्ता पाउने आशले उनी प्रशासनसम्म पुग्दा गिरोहको पोल खुल्यो र उनी आफैँ पनि प्रहरीको फन्दामा परिन्।
फोटो स्टुडियोमा नक्कली धन्दा
मनीषाको बयानका आधारमा मोरङ प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको टोलीले महेन्द्र चोकस्थित धनदेव राजवंशीले सञ्चालन गरेको ‘न्यु डोली फोटो सर्भिसेज’ मा छापा मार्यो। त्यहाँको दृश्य देख्दा प्रहरी नै अचम्मित भयो। एउटा फोटो स्टुडियोभित्रै गिरोहले नक्कली सरकारी कागजातको ‘कारखाना’ नै चलाइरहेको पाइयो।

प्रहरीले बरामद गरेको नक्कली कागजपत्र।
छापा मार्दा प्रहरीले १२ थान तयारी अवस्थाका नक्कली नागरिकता, १० थान खाली जन्मदर्ता, विवाह र मृत्यु दर्ताका प्रमाणपत्रहरू बरामद गर्यो। यति मात्र होइन, स्टुडियोबाट दुई थान सवारीचालक अनुमति पत्र (लाइसेन्स) र ‘न्यु डोली फोटो सर्भिसेज’ लेखिएको रबर स्ट्याम्पसमेत जफत गरिएको छ। प्रहरीले घटनाका मुख्य योजनाकार धनदेव राजवंशी र अशोककुमार श्रेष्ठलाई पक्राउ गरिसकेको छ।
बैंक स्टेटमेन्टबाट थप अनुसन्धान
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार यो गिरोहले संगठित रूपमै मानिसहरूलाई ठगी गरिरहेको पाइएको छ। “प्रशासन कार्यालयमा कर्मचारीले शंका गरेर खबर गरेपछि मात्र यो गिरोहसम्म पुग्न सम्भव भयो,” कटुवालले भने, “हामीले पक्राउ परेका व्यक्तिहरूको बैंक स्टेटमेन्ट मगाएर अध्ययन गरिरहेका छौँ। अहिलेसम्म धेरै ठूलो रकमको कारोबार भएको देखिएको छ। जसले यो गिरोहले धेरै सोझा मानिसलाई ठगी गरेको संकेत गर्छ।”

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाल।
प्रहरीले अहिले राजवंशी र श्रेष्ठमाथि सरकारी कागजात किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। मनीषाजस्ता अशिक्षित र विपन्न महिलालाई लक्षित गरी मोटो रकम असुल्ने यो सञ्जालमा अन्य को-को संलग्न छन् भन्नेबारे प्रहरीले सूक्ष्म खोजी गरिरहेको छ।