काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२५ फाल्गुन २०८२
लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेका जिम्मी निशम। तस्बिर : एनपीएल
अ+
अ-

काठमाडाैं। आईसीसी टी-२० विश्वकपको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका जिम्मी निशमले सामाजिक सञ्जालमार्फत गरेको एक टिप्पणीले नेपाल प्रिमियर लिग (एनपीएल) सँग सम्बन्धित नयाँ विवाद सतहमा ल्याएको छ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग न्युजिल्यान्ड ९६ रनले पराजित भएको थियो। तर, अलराउन्डर जिम्मीले ४ ओभरमा ४६ रन खर्चिँदै बलिङमा प्रभावशाली प्रदर्शन गरेका थिए।

उनले एकै ओभरमा इशान किशन, सन्जु सामसन र सूर्यकुमार यादवको विकेट लिए। त्योसँगै खेल केही समय सन्तुलनमा आएको थियो। यद्यपि, अन्तिम ओभरमा शिवम् दुबेले ८ बलमा ३ चौका र २ छक्कासहित अविजित २६ रनको आक्रामक ब्याटिङ गर्दै भारतको स्कोर २५५ रनमा पुर्‍याए।

बधाई पोस्टमा आयो ‘पे योर प्लेयर्स’ कमेन्ट्

फाइनलमा जिम्मीको प्रदर्शनको प्रशंसा गर्दै एनपीएल फ्रेन्चाइजी पोखराले सामाजिक सञ्जालमा बधाई पोस्ट गरेको थियो। किनभने जिम्मीले अघिल्लो संस्करणको एनपीएलमा पोखराबाट खेलेका थिए।

पहिलो संस्करणमा जनकपुर बोल्ट्साई च्याम्पियन बनाएका जिम्मीले दोस्रो संस्करणमा पोखराबाट चार खेल खेले।

उक्त खेलमा उनले प्रभावकारी प्रदर्शन गर्न सकेनन्। चार इनिङ्समा उनले एक अर्धशतकसहित ९९ रन मत्र बनाउन सक‍े। बलिङमा पनि उनले १० ओभर गर्दै १०३ रन खर्चिएर ५ विकेट मात्र लिए।

पोखरा ७ खेलमा ३ जित र ४ हार बेहोर्दै ६ अंक जोडेर लिग चरणबाटै बाहिरियो।

यद्यपि पोखरा भने आफ्नो टोलीबाट खेलिसकेका जिम्मीलाई विश्वकपमा गरेको प्रदर्शनका कारण बधाई दिन हिच्किचाएन।

इन्स्ट्राग्राममा उनलाई बधाई दिँदै लेखिएको थियो, ‘विश्वकप फाइनलको १६औँ ओभरमा जिम्मी निशमको उत्कृष्ट ओभर। विकेट, दुई शून्य रन, एक रन अनि फेरि दुई विकेट। भारतविरुद्ध ३ विकेट, १ रन र २ डट दिए। ठूलो मञ्चमा उत्कृष्ट स्पेल। फाइनलमा न्युजिल्यान्ड उपविजेता हुनु दुर्भाग्यपूर्ण हो। एनपीएल सिजन २ मा पोखरा एभेन्जर्सको प्रतिनिधित्व गरेको देखेर गर्व लाग्यो।’

सोही बधाई पोस्टमा जिम्मीले छोटो तर अर्थपूर्ण प्रतिक्रिया दिए। उनले लेखे, ‘कुल, पे योर प्लेयर्स ।’

उनको यो टिप्पणीले पोखराले १३ डिसेम्बर २०२५ मै सकिएको लिगको पारिश्रमिक अझै नदिएको भन्दै क्रिकेट वृत्तमा चर्चा सुरु भयो।

जिम्मीको प्रतिक्रियापछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि यस विषयमा चासो व्यक्त गरेको छ। क्यानले पोखरा व्यवस्थापनसँग स्पष्टीकरण मागेको छ।

‘पैसा दिन समस्या छैन, प्रक्रिया ढिलो भयो’

पोखराका मुख्य लगानीकर्तामध्ये एक सुबोध त्रिपाठीले खेलाडीको पारिश्रमिक दिन क्लबलाई समस्या नरहेको बताए। तर, नेपालको प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भएको उनी दाबी गर्छन्।

“सुरुआतमा विदेशी खेलाडीलाई रकम पठाउन नेपाल राष्ट्र बैंकको अनुमति आवश्यक नपर्ने भनिएको थियो। तर, पोखराले कारोबार गर्ने ग्लोबल आईएमई बैंकले अनुमति आवश्यक पर्ने बताएपछि प्रक्रिया थप जटिल बनेको हो,” उनी भन्छन्।

सोही कारण अनुमति लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुग्नुपरेको उनको भनाइ छ। तर, राखेपले एनपीएलसँग सम्बन्धित अन्य विषयका कारण प्रक्रिया अघि नबढाउँदा रकम भुक्तानी गर्न नसकेको उनको तर्क छ।

“बीचमा निर्वाचनका कारण कार्यालय बन्द हुँदा पनि ढिलाइ भएको हो। जिम्मीसहित अन्य खेलाडीलाई अझै पारिश्रमिक दिन सकिएको छैन। अब दुई साताभित्र भुक्तानी गर्छौं। प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” उनले भने।