काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलनबारे टिप्पणी गर्दै अहिले नै आत्मसमीक्षा नगरे भविष्यमा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले पाँच वर्षअघि नै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उत्कर्ष र पतनको अवस्था अनुमान गरेको दाबी गरेका छन्। वामपन्थी शक्तिहरू एकजुट हुँदा जनतामा ठूलो आशा र उत्साह देखिए पनि विचार, संगठन र व्यवहारको आधार कमजोर हुँदा त्यो एकता टिक्न नसकेको उनले बताएका छन्।

उनले लेखेका छन् कि पार्टी एकताले जनस्तरमा अभूतपूर्व ऊर्जा सिर्जना गरे पनि नेतृत्व तहभित्रको सोच, संरचना र कार्यशैली स्पष्ट र मजबुत नभएकाले अन्ततः विभाजनको अवस्था आएको हो।

बास्कोटाले विश्व कम्युनिष्ट आन्दोलनका अनुभवबाट पाठ नसिकिएको पनि टिप्पणी गरेका छन्। सोभियत संघको विघटनबाट आवश्यक शिक्षा नलिइएको र चिनियाँ मोडलको नक्कल गर्ने प्रयास असफल भएको उनको भनाइ छ।

कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त नभएको उल्लेख गर्दै उनले अहिले पनि सुधार र आत्ममूल्यांकनको आवश्यकता औंल्याएका छन्। समयमै गल्ती सच्याउन नसके आगामी निर्वाचन वा भविष्यका राजनीतिक प्रक्रियामा कम्युनिष्ट शक्तिहरूले ठूलो क्षति बेहोर्नुपर्ने उनले चेतावनी दिएका छन्।

एमाले र माओवादी केन्द्रको एकताबाट बनेको तत्कालीन नेकपा पछि आन्तरिक विवाद र शक्ति संघर्षका कारण विभाजित भएको थियो। अहिले ती दुवै दल फेरि अलग–अलग रूपमा राजनीतिक गतिविधिमा सक्रिय छन्।