महेन्द्रनगर। कञ्चनपुरमा जिप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको परिचय खुलेको छ।
पूर्व-पश्चिम राजमार्गको महेन्द्रनगर-दैजी खण्डमा आज (बिहीबार) दिउँसो जिप र मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका १‚ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
“मृतकका आफन्तबाट पहिचान खुलेको छ‚” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भने‚ “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदै छ।”
महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से.१ज १४०५ नम्बरको जिप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म.२प ३५०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। प्रहरीले जिप र चालक नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए।