काठमाडौं । सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न सकिने व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ राजपत्रमा प्रकाशित गर्दै यो नीति ल्याएको हो।
नीतिअनुसार चिनी उद्योगबाट निस्कने मोलासेस, नेपियर घाँस, कृषि तथा वनजन्य बायोमास, पराल, मकैको खोया, गहुँको छ्वालीजस्ता अवशेषबाट इथानोल उत्पादन गर्न सकिनेछ भने खाद्यान्न प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।
उत्पादित इथानोल अनिवार्य रूपमा नेपाल आयल निगमलाई मात्र बिक्री गर्नुपर्नेछ र निगमले उपलब्धता तथा प्राविधिक तयारीअनुसार पेट्रोलमा मिसाएर वितरण गर्नेछ। यसबाट पेट्रोलियम पदार्थ आयात घटाउने, विदेशी मुद्रा बचत गर्ने र स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको सरकारको भनाइ छ।