जेरुसेलम। इरानले इजरायलमा गरेको मिसाइल आक्रमणबाट ५८ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार मिसाइल आक्रमणबाट उत्तरी क्षेत्रका कैयौँ भवनहरूमा क्षति पुगेको छ।
इजरायलको अग्नि तथा उद्धार सेवाले दिएको जानकारी अनुसार उत्तरी इजरायलको अरब बहुल सहर जरजिरमा मिसाइल प्रहारका कारण स्थानीय घरहरूमा क्षति पुग्नुका साथै भीषण आगलागी समेत भएको थियो।
इजरायलको आपत्कालीन सेवा प्रदायक मागेन डेभिड एडमका अनुसार प्यारामेडिक टोलीले घटनास्थलमा ५८ जना घाइतेहरूको उपचार गरेका छन्।
घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहे तापनि केहीको अवस्था भने गम्भीर पाइएको छ।
घाइतेहरूलाई थप उपचारका लागि तत्कालै स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ। इरानले इजरायल विरुद्ध थप आक्रामक कारबाही जारी राख्ने चेतावनी दिएसँगै यस क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।