काठमाडौं । गुस्ताव इसाक्सेनको निर्णायक गोलमा इटालियन क्लब लाजियोले शीर्ष डिभिजन लिग सिरी ‘ए’मा एसी मिलानविरुद्ध १–० को कठिन जित निकालेको छ ।
यो जितसँगै लाजियो लिग तालिकाको नवौँ स्थानमा उक्लिएको छ । लाजियोले २९ खेलबाट ४० अंक जोडेको छ ।
सोमबार लाजियोलाई रोमस्थित घरेलु मैदान स्टाडियो ओलिम्पिकोमा जित दिलाउन इसाक्सेनले गरेको एक मात्र गोल पर्याप्त बन्यो । इसाक्सेनले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै लाजियोले जित पक्का गरेको हो । इसाक्सेनले २६औँ मिनेटमा अग्रता दिलाएका थिए ।
हारसँगै तालिकाको दोस्रो स्थानमा रहेको एसी मिलानलाई भने धक्का लागेको छ । जित निकाल्दै शीर्ष स्थानको इन्टर मिलानसँग अंक दूरी घटाउने एसी मिलानलाई अवसर थियो । एसी मिलानको २९ खेलबाट ६० अंक छ । हारपछि एसी मिलान इन्टरसँग आठ अंकले पछाडि परेको छ ।