काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ चैत्र २०८२
अ+
अ-

सुर्खेत। आफ्ना दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी सुर्खेतकी माया कठायतको शव भेटिएको छ। लेकबेँसी नगरपालिका ३ को पटारे भन्ने ठाउँमा सोमबार बेलुका भेरी नदीमा उनको शव भेटिएको हो।

सन्तानसहित सम्पर्कविहीन भएपछि माया र उनका छोराछोरी भेरी नदीमा बेपत्ता भएको हुनसक्ने आशंकासहित खोजी थालिएको थियो। सुर्खेतको गुर्भाकोट १२‚ पिप्लेकी ३८ वर्षीया माया कठायत, उनका ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपक सम्पर्कविहीन थिए। तीनैजना आइतबारदेखि सम्पर्कविहीन भएको सोमबार बिहान मायाका पति भूपेन्द्र कठायतले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले खोजी गर्नेक्रममा घरदेखि ३ किलोमिटर टाढाको दूरीमा पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेका थिए।

सोमबार बेलुका मायाको शव भेटिएको पुष्टि भइसकेको गुर्भाकोट नगरपालिका १२ का वडाध्यक्ष तुल्सी शर्माले जानकारी दिए। “नदीको पानीमुनि खोँचमा आमाको शव भेटिएको छ। छोराछोरीको अवस्था अज्ञात छ,” उनले भने।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले पनि शव भेटिएको पुष्टि गरे। बेपत्ता भएका दुई बालबालिकाको खोजीकार्य निरन्तर रहेको उनले बताए।