काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिने भएको छ। अभिमुखीकरणमा सहभागी हुने सांसदलाई पार्टीले मोबाइल लैजान नपाइनेलगायत ६ वटा सर्त राखेको छ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रत्यक्ष तथा समानुपातिक सांसदहरूका लागि भोलि र पर्सि (३ र ४ चैत) ललितपुरको टुलिप होटेलमा अभिमुखीकरण कार्यक्रम राखेको हो। बुर्लाकोटीले अभिमुखीकरणमा अनिवार्य रूपमा उपस्थित हुन नवनिर्वाचित सांसदहरूलाई भनेका छन्।

अभिमुखीकरण मंगलबार बिहान १० बजेबाट सुरु हुनेछ। आवासीय अभिमुखीकरणमा खाना र आवास पार्टीले सुनिश्चित गरेको छ। महामन्त्री बुर्लाकोटीका अनुसार कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरिएको छ। साथै कार्यक्रममा स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश पनि निषेध गरिएको छ। नवनिर्वाचित सांसदहरूले परिवार सदस्य, साथी वा अन्य अतिथिलाई होटेलमा लैजान पाउने छैनन्।

सांसदहरूले आफ्ना चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था आफैँ मिलाउनुपर्ने पनि पार्टीले निर्देशन दिएको छ। साथै सांसदहरूले कार्यक्रमस्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न पाउने छैनन्।

रास्वाले अभिमुखीकरणमा सहभागी हुन आउने सांसदलाई ‘ड्रेस कोड’ को पनि ख्याल राख्न भनेको छ। जसअनुसार सांसदहरूले व्यवसायिक क्याजुअल (बिजनेस क्याजुअल) पोसाकमा अभिमुखीकरणमा सहभागी हुनुपर्नेछ।

पत्रकार तथा सञ्चारकर्मीहरूलाई भने बिहानको उद्घाटन सत्र र समापन सत्रमा मात्र रिपोर्टिङका लागि आउन सकिने व्यवस्था मिलाइएको पनि रास्वपाले जनाएको छ। सभापति रवि लामिछाने भने समापन सत्रमा सहभागी भएर सम्बोधन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ।