सुर्खेत। आफ्ना दुई जना छोराछोरीसहित सम्पर्कविहीन भएकी सुर्खेतकी माया कठायतकी छोरीको पनि शव भेटिएको छ।
आइतबारदेखि आफ्ना दुई सन्तानसहित सम्पर्कविहीन भएकी मायाको शव सोमबार बेलुका भेरी नदीमा भेटिएको थियो। उनकी ११ बर्षीय छोरी आशाको शव भने मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
सोमबार बेलुका लेकवेशी नगरपालिका–३ को पटारे भन्ने ठाउँमा भेरी नदीमा मायाको शव भेटिएको हो। छोरीको शव भने गुर्भाकोट–१२ स्थित भेरी नदी किनारमै भेटिएको हो । मायाका ५ बर्षीय छोरा दीपकको अवस्था अज्ञात रहेको र खोजी भईरहेको प्रहरीले जनाएको छ।
सन्तानसहित सम्पर्कविहीन भएपछि माया र उनका छोराछोरी भेरी नदीमा बेपत्ता भएको हुनसक्ने आशंकासहित खोजी कार्य थालिएको थियो।
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्ले ठेगाना भएकी ३८ बर्षीया माया कठायत, उनका ११ बर्षीय छोरी आशा र ५ बर्षीय छोरा दिपक कठायत सम्पर्कविहीन थिए। तीनै जना आइतबारदेखि सम्पर्कविहीन भएको भनेर सोमबार बिहान मायाका श्रीमान भूपेन्द्र कठायतले प्रहरीलाइ गरेका थिए।
प्रहरीले खोजी गर्नेक्रममा घरदेखि ३ किलोमिटर टाढाको दूरीमा पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोवाइल फेला परेका थिए।