बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन्।
४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, बराहताल गाउँपालिका—१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, र लेकवेशी नगरपालिका—८ घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले आइतबार बेलुका ५ बजेतिर उक्त घटनाबारे प्रहरी कहाँ उजुरी परेको बताएका छन्।
उनका अनुसार बेपत्ता भएकाहरु फागुन २३ गते बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका थिए। दश दिनसम्म घर नफर्किएपछि उनीहरुको परिवार प्रहरी कार्यालयमा उजुरी दिन पुगेका हुन्।
‘अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा ४ जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ। यसका साथै जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको छ।’ उनले बताए।
बर्दिया राष्ट्रिय निकुञ्ज सरोजमणि पौडेल सुचना अधिकारीले पनि नेपाल प्रहरी, नेपाली सेना, निकुञ्जका कार्मचारी मिलेर संयुक्त रुपमा खोजी कार्य अघि बढाएको बतााएका छन्।
‘रेञ्जर भरत पौडेललाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाएका छौँ । साथै साथै ड्रोनको सहयोगबाट पनि खोजी गर्दै छौँ । नेपाल प्रहरी, सेना र हामी कर्मचारी मिलेर खोजी कार्य सुरु गरेका छौँ।’ उनले बताए।