काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब-इन्जिनियर मोहन शाह विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विगत ८ वर्षदेखि करार सेवामा कार्यरत रहेका शाहले आफ्नो म्याद थप गराउनका लागि नगर प्रमुख वादीलाई घुस दिएको आरोपमा आयोगले आरोपपत्र दर्ता गरेको हो।
नगर प्रमुख वादीले आर्थिक वर्ष २०८१/०८२ को करार म्याद थप गरिदिए बापत शाहसँग १ लाख रुपैयाँ माग गरेको र शाहले उक्त रकम नगर प्रमुखको बैंक खातामै जम्मा गरिदिएपछि मात्र उनको म्याद थप भएको अनुसन्धानमा खुलेको आयोगले जनाएको छ।
तर पुनः आर्थिक वर्ष २०८२/०८३ को नवीकरणका लागि पनि थप १ लाख रुपैयाँ माग गरिएको र सो रकम बुझाउन नसकेपछि शाहलाई पदबाट बर्खास्त गरिएको थियो। शाहले आफूले पहिले बुझाएको बैंक भौचरसहित अख्तियारमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो।
अख्तियारले नगर प्रमुख पुष्प वादीलाई राष्ट्रसेवक पदको दुरुपयोग गरी १ लाख रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ। साथै, उनी नगर प्रमुख जस्तो जिम्मेवार पदमा रहेकाले दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ।
यसैगरि घुस दिने कार्यमा संलग्न असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहलाई पनि सोही ऐनको दफा ३ (३) बमोजिम कसुरदार ठहर गर्दै १ लाख बिगो कायम गरी कैद र जरिवानाको सजाय माग गरिएको छ। दुवै प्रतिवादीबाट घुस बापतको रकम जफत गर्न समेत आयोगले अदालतसमक्ष माग गरेको छ।