काठमाडौँ। एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को अन्तर्राष्ट्रिय कमिटीले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्ने काममा सरकारले पहल गर्न ध्यानाकर्षण गराएको छ।
विश्वभर छरिएका नेपालीमूलका व्यक्तिहरूको संगठन एएनओको अन्तर्राष्ट्रिय प्रतिनिधि मण्डलले मंगलबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो।
एएनओका अन्तर्राष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्याक्ष सुशील पन्त, महासचिव चूडामणि भट्टराई, नेपाल च्याप्टर अध्यक्ष कृष्णप्रसाद सापकोटालगायतको प्रतिनिधिमण्डलले विश्वभर छरिएका पुस्तौँपुस्तामाथिका नेपाली मूलकालाई परिचय-पत्रको व्यवस्था गर्न माग गरेको छ। साथै प्रतिनिधिमण्डलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा बेग्लै डेस्क खडा गर्नसमेत माग गरेको छ।
साथै पूर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झन्डै सात हजार भुटानी शरणार्थीहरूको मानवअधिकार तथा मानवीय दृष्टिकोणबाट उचित व्यवस्थापन गर्न माग पनि प्रतिनिधि मण्डलले गरेको छ।
आफूहरूले नेपालभन्दा बाहिर नेपाली पहिचानको विस्तारमा सहयोग पुर्याइरहेको बताउँदै एएनओका अध्यक्ष अधिकारीले नेपाल सरकार सहयोगी बने मुलुकको वार्षिक बजेटभन्दा ठुलो लगानी ल्याउन सकिने बताए।
यस्तै वरिष्ठ अधिवक्ता तथा एएनओका उपाध्यक्ष सुशीलकुमार पन्तले नेपालीमन र नेपालीपनलाई जोड्दै एएनओ अघि बढेको बताए। सरकारले यो विषयलाई राष्ट्रहितका लागि गम्भीर रूपमा लिन उनको आग्रह थियो। महासचिव भट्टराईले एएनओको माग मूलतः राजनीतिकभन्दा पनि सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानसँग जोडिएको बताए।
ध्यानाकर्षणपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्री शर्माले एएनओका माग नेपालकै पहिचान विस्तारमा सघाउने प्रकृतिको भएकाले सरोकारवाला निकाय राखेर छिटै बृहत् बैठक गर्ने र निचोडमा पुग्ने आश्वासन दिए। उनले आफू सैनिक सेवामा रहँदा पुस्तौँअघि बाहिरिएका नेपालीमूलका मानिस भेट्ने अवसर पाएको अनुभव सुनाए। उनले मध्यपूर्वबाट नेपालीहरू उद्धार गर्ने कार्यमा सरकारले गृहकार्य गरिरहेको जानकारी पनि दिए।