काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३ चैत्र २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

खोटाङ। वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ। गएराति करिब ८ बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थानीयको घरगोठ तथा केही विद्यालयका छाना उडाएको हो।

हावाहुरीले हलेसी तुवाचुङ ३‚ च्यास्मिटारस्थित छोर्तिपास्थित एउटै टोलका १५, सोही नगरपालिकाको बाहुनीडाँडा र धितुङका बासिन्दाको २५ घरको छाना उडाएको जानकारी प्राप्त भएको नगरप्रमुख विमला राईले बताइन्।

सोही नगरपालिकाको ८‚ धितुङका छविलाल सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीको घरको छानो हावाहुरीले उडाएको बताइएको छ। हावाहुरीले गरेको क्षतिको विवरण संकलन गर्न सम्बन्धित वडा कार्यालयबाट जनप्रतिनिधिसहितको टोली परिचालन गरिएको नगरप्रमुख राईले जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार रावाबेँसी गाउँपालिका १‚ कुभिन्डे हरमटारस्थित युवराज भट्टराईको घर, दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खाका केशव पराजुली, कुमार श्रेष्ठ, रमेश श्रेष्ठ तथा दिक्तेल रुपाकोट मझुवागढी ७‚ दोर्पाका सुनसरी राई, सोही नगरपालिका ३‚ बाम्राङका पदमबहादुर कटुवालको घरको छानो हावाहुरीले उडाएको छ।

यसरी जिल्लाका धेरै ठाउँमा क्षति भएको जानकारी आए पनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए।

शिक्षा विकास तथा समन्वय एकाइ खोटाङका प्रमुख तीर्थ विश्वकर्माले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२‚ जापलास्थित जनता आधारभूतलगायत जिल्लाका अधिकांश विद्यालयमा क्षति पुर्‍याएको सूचना आएको बताए। क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।

असिनापानीसहित चलेको हावाहरीले रुख ढलेकाले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। अवरुद्ध सडक सञ्चालनका लागि सम्बन्धित स्थानीय तहका स्काभेटर प्रयोगमा ल्याइएको जनाइएको छ।

हावाहुरीका कारण सामुदायिक रेडियो हलेसी एफएमको मुडेमा रहेको रिपिटर टावरमासमेत क्षति पुगेको सञ्चालक समिति अध्यक्ष विष्णुकुमार राईले जानकारी दिए।

यस्तै हावाहुरीका कारण गएरातिबाट अवरुद्ध विद्युत् सेवा सञ्चालनमा आएको छ। उदयपुरको जलजले र ओखलढुंगाबाट आउने ३३ केभी प्रसारण लाइन विद्युत्‌मा देखिएको समस्या समाधान गरेपछि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ। -रासस