काठमाडौँ। नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनविपरीत कर्जा दुरुपयोग गरेको अभियोगमा डंगोललाई पक्राउ गरी आज (मंगलबार) सार्वजनिक गरेको हो।
ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले प्रभु बैंकबाट ‘प्रभु म्यानेजमेन्ट प्रालि’मा प्रवाह भएको कर्जा दुरुपयोग प्रकरणमा डंगोलको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए।
ब्युरोले यसअघि बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनमाथि बैंकिङ कसुरको आरोपमा पक्राउ गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा संकलित तथ्य, प्रमाण र विज्ञ टोलीको विश्लेषणबाट डंगोलले कर्जा दुरुपयोग गर्ने/गराउने कार्यमा भूमिका खेलेको देखिएको हो।
ललितपुरका डंगोललाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत अनुसन्धान गर्न उच्च अदालत पाटनबाट अनुमति लिइएको थियो।