काठमाडौँ। प्रि-मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ।
नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणत: सफा नै रहने तर बिहीबारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बुधबार छिटपुटबाहेक प्रायजसो स्थानमा आजको जस्तै मौसम सफा भए पनि बिहीबारबाट भने क्रमशः बढ्ने देखिएको छ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रि-मनसुनका समयमा कुनैबेला खुल्ने, फेरि प्रणाली विकास भएर बदली हुने क्रम जारी रहने र बिहीबारबाट बदली थपिने बताए। शुक्रबार र शनिबार बदली थप बढी देखिने र ठाउँठाउँमा वर्षा हुने तर देशैभरि एकैसाथ पानी पर्नेभन्दा पनि कतै पर्ने कतै रोकिने अवस्था रहने उनले बताए।
पौडेलले प्रि-मनसुनका समयमा हावाहुरी, चट्याङ र असिनापानीको बढी जोखिम हुने पनि बताए। कतै घाम लागिरहेको समयमा अर्को ठाउँमा हावाहुरी र असिनापानीले ठूलो असर गराउने भएकाले सचेत रहन उनको आग्रह छ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ।
विभागले आज (मंगलबार) साँझ सार्वजनिक गरेको बुलेटिनमा बुधबार देशको हिमाली भू-भागमा साधारणत: बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, बागमती र कोसी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणत: बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।