काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको लागि आयोजित अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनको सुरुवात योगध्यान कक्षासँगै भएको छ।
ललितपुरको होटल टुलिप मा मंगलबार आयोजित कार्यक्रममा सांसदहरूलाई योगगुरु एलपी भानु शर्मा ले योगध्यान गराएका थिए। कार्यक्रममा सहभागी सांसदहरूलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम गर्ने विषयमा जानकारी दिइयो।
रास्वपाका अनुसार, अभिमुखीकरण कार्यक्रमको उद्देश्य सांसदहरूमा साझा दृष्टिकोण विकास गर्नु र कार्यकारी तथा संसदीय प्रक्रिया सम्बन्धमा स्पष्ट ज्ञान प्रदान गर्नु हो।
कार्यक्रमको क्रममा, पूर्वसचिव तोयानारायण ज्ञवाली ले ‘सरकार सञ्चालन प्रक्रिया: योजना तथा बजेट निर्माण’ सम्बन्धी प्रशिक्षण दिनेछन् भने पूर्वसचिव प्रताप कुमार पाठक ले ‘सुशासन: अवधारणा र अभ्यास’ विषयमा प्रशिक्षण दिनेछन्।
त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगाना ले ‘पार्टी र सांसदको सम्बन्ध: नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धता’ विषयमा प्रस्तुति दिनेछन्।
अन्त्यमा रास्वपा सभापति रवि लामिछाने ले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ।