काठमाडौँ। खाडी क्षेत्रका केही मुलुक तथा टर्कीमा कार्यरत नेपाली श्रमिकहरूका लागि सरकारले पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ।
विभिन्न मुलुकबाट बिदामा नेपाल आएका श्रमिकहरूलाई रोजगारीमा फर्कन श्रम स्वीकृति दिने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूले अब पुनः श्रम स्वीकृति पाउने जनाएको छ।
मन्त्रालयले ती देशहरूमा कार्यरत श्रमिकहरू बिदामा नेपाल आएका बेला श्रम स्वीकृतिको अवधि समाप्त भइ पुनः फर्किन समस्या भएको भन्दै विभिन्न माध्यमबाट माग आएपछि सरकारले यस्तो निर्णय गरेको जनाएको छ।
परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको रायका आधारमा चैत ३ गते निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले ६ देशहरू इरान, इसराइल, बहराइन, कुवेत, इराक र लेबननका लागि भने हाललाई श्रम स्वीकृति प्रदान नगरिने बताएको छ।
यसअघि २०८२ फागुन १७ गतेको निर्णय अनुसार पश्चिम एसियाका विषम परिस्थितिका कारण ती क्षेत्रमा जाने श्रमिकको सुरक्षाका लागि भन्दै श्रम स्वीकृति स्थगन गरिएको थियो।
