काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

५ चैत्र २०८२
फाइल फोटो
अ+
अ-

दोहा। इरानले बिहीबार बिहान कतारको प्रमुख ऊर्जा हब ‘रास लफान इन्डस्ट्रियल सिटी’ मा शक्तिशाली ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

कतारी रक्षा मन्त्रालयका अनुसार केही घण्टाको अन्तरालमा भएका दुई छुट्टाछुट्टै आक्रमणले औद्योगिक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

कतारको आन्तरिक मन्त्रालयले इरानी निसानाका कारण रास लफान क्षेत्रमा भिषण आगलागी भएको र उद्धार टोलीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जानकारी दिएको छ।

कतार इनर्जीले पहिलो चरणको आक्रमणबाटै पूर्वाधारमा गम्भीर क्षति पुगेको बताए पनि हालसम्म मानवीय हताहतीको भने पुष्टि भएको छैन।खाडीको अर्थतन्त्रको मेरुदण्ड मानिने यो औद्योगिक क्षेत्रमा जारी युद्धका क्रममा इरानले पटक-पटक आक्रमण गर्दै आएको छ।

कतारको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारका ऊर्जा केन्द्रहरूमाथि भएका इरानी आक्रमणको भर्त्सना गरेको छ। यी आक्रमणहरूलाई अन्तर्राष्ट्रिय कानुनको “घोर उल्लंघन” र विश्वव्यापी ऊर्जा सुरक्षाका लागि “गम्भीर खतरा” भन्दै कतारले इरानी “क्रुरता” ले सबै सीमा नाघेको टिप्पणी गरेको छ।

अन्तर्राष्ट्रिय स्थिरता कायम गर्न तत्काल पहल हुनुपर्नेमा कतारले जोड दिएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा इजरायलले गरेको आक्रमणको आलोचना गर्दै अब त्यस्ता आक्रमणहरू नहुने स्पष्ट पारेका छन्।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले इजरायलले आक्रोशका कारण इरानको महत्वपूर्ण ग्यास क्षेत्रमा आक्रमण गरेको र त्यसको जानकारी अमेरिकासँग नभएको दाबी गरेका छन्।

इजरायली आक्रमणमा कतारको कुनै संलग्नता नरहेको भए तापनि इरानले बिना तथ्य कतारको एलएनजी ग्यास केन्द्रमा अन्यायपूर्ण रूपमा आक्रमण गरेको ट्रम्पको भनाइ छ।

ट्रम्पले आगामी दिनमा इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा कुनै पनि आक्रमण नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

इरानले भने अमेरिका-इजरायल सैन्य अभियान र आफ्ना शीर्ष अधिकारीहरूको हत्याको बदला लिन यो क्षेत्रका ऊर्जा केन्द्रहरूलाई निशाना बनाउँदै आएको छ।