काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

५ चैत्र २०८२
अ+
अ-

काठमाडौं । कतारले इरानी राजदूतलाई देश निकाला गरेको छ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा भएको इरानी मिसाइल आक्रमणबाट व्यापक क्षति भएपछि कतारले इरानी राजदूतलाई देशनिकाला गरेको हो ।

कतारको एक प्रमुख तेल प्रशोधन क्षेत्रमा इरानले मिसाइल आक्रमण गरेको हो । इजरायली आक्रमणबाट इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रका सुविधाहरूमा क्षति पुगेको छ । इरानले निर्णायक कारबाही गर्ने चेतावनी दिँदै जारी गरेको सूचीमा रास लाफान पनि समावेश थियो ।

“आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिन आपतकालीन प्रतिक्रिया टोलीहरू तुरुन्तै परिचालन गरिएको थियो, किनकि त्यहाँ व्यापक क्षति भएको छ,” कतार इनर्जीले सामाजिक सञ्जालमा लेखेको छ ।

विज्ञप्तिमा सबै कर्मचारीहरू सम्पर्कमा रहेको र हालसम्म कुनै मानवीय क्षतिको खबर नभएको जनाइएको छ ।

कतारको औद्योगिक क्षेत्र रास लाफानमा भएको आक्रमणपछि कतारको परराष्ट्र मन्त्रालयले इरानका सैन्य र सुरक्षा सहचारीहरूलाई उनीहरूका कर्मचारीसहित देश छोड्न आदेश दिएको छ ।

कतारले ‘पर्सोना नन ग्राटा’ (अवाञ्छित व्यक्ति) घोषणा गरेका ती व्यक्तिहरूले २४ घण्टाभित्र देश छोड्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो कदम बारम्बार भइरहेका इरानी आक्रमणका कारण चालिएको मन्त्रालयले बताएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको विज्ञप्तिमा, यदि इरानले आफ्नो शत्रुतापूर्ण गतिविधि जारी राखेमा कतारले आफ्नो रक्षाका लागि थप कदमहरू चाल्न बाध्य हुने चेतावनी दिइएको छ ।

 बीबीसी