काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गते गर्ने तयारी गरेको छ। सचिवालयले बिहीबार दिउँसो २ बजेका लागि शपथ कार्यक्रम तय गर्दै सम्बन्धित सदस्यहरूलाई समयमै उपस्थित हुन आग्रह गरेको हो।
सचिवालयद्वारा जारी सूचनाअनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन निर्वाचित सदस्यहरूलाई निर्धारित समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन भनिएको छ।
शपथका लागि उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा ल्याउनुपर्नेछ।
सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ। यसले शपथ समारोहलाई थप गरिमामय र प्रतिनिधिमूलक बनाउने अपेक्षा गरिएको छ।
