काठमाडौँ। देशभर ह्वाट्सएप ह्याक गरेर गरिने अनलाइन ठगीका घटना तीव्र रूपमा बढ्दै गएपछि नेपाल प्रहरी को साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
ब्यूरोका अनुसार पछिल्लो समय ठगहरूले ह्याक गरिएका ह्वाट्सएप खातामार्फत आफन्त वा चिनेजानेकै व्यक्तिको रूपमा सन्देश पठाउँदै आर्थिक सहयोग माग्ने प्रवृत्ति बढेको छ। “म अप्ठ्यारोमा छु, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “बैंकिङ एपमा समस्या आयो, क्यूआर कोडमार्फत रकम पठाउनुहोस्” जस्ता बहानामा पैसा ठगी गर्ने क्रम उल्लेखनीय रूपमा बढेको प्रहरीले जनाएको छ।
यस्ता सन्देशहरू विश्वासिलो देखिने भएकाले धेरैजसो मानिस झुक्किने गरेका छन्। त्यसैले कुनै पनि आर्थिक कारोबार गर्नुअघि सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष फोन वा अन्य माध्यमबाट पुष्टि गर्न अनिवार्य रहेको साइबर ब्यूरोले स्पष्ट पारेको छ।
प्रहरीले अपरिचित लिंक, क्यूआर कोड वा शंकास्पद म्यासेजमा क्लिक नगर्न, साथै आफ्नो डिजिटल सुरक्षामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ।