काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुन: आइतबार बस्ने गरी स्थगित भएको छ।
केन्द्रीय सदस्य मधु आचार्यले बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए।
उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेका कारण बैठक लम्बिएको हो। बैठकमा उपसभापति शर्माले प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासहितको १४ पेजको प्रतिवेदन पेस गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुमा गठबन्धन सरकारलाई दोषी मानिएको छ। दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यसले सरकारको गतिमा तीव्रताको तीव्र अपेक्षा हुँदा सरकारको प्रस्तुति औसत रहेको शर्माको भनाइ छ। उनले नागरिकपंक्तिमा नयाँ विश्वास जगाउनुको सट्टा नयाँ आशासमेत जागृत हुन नसकेको उल्लेख गरे।
बैठक आइतबार बिहान ८ बजे फेरि बस्ने गरी सकिएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।