काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

७ चैत्र २०८२
अ+
अ-

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य कारबाहीलाई ‘टुङ्ग्याउने’ योजना सार्वजनिक गरेका छन् । वासिङ्टनबाट फ्लोरिडा जाने क्रममा राष्ट्रपतीय विमान ‘एयर फोर्स वान’ मा रहेका प्रेस पुललाई राष्ट्रपतिको पछिल्लो ‘ट्रुथ सोसल’ पोस्टको प्रतिलिपि बाँडेर यसबारे औपचारिक जानकारी दिइएको हो।

विशेष गरी महत्त्वपूर्ण सन्देशहरूलाई जोड दिन राष्ट्रपतिले विमानभित्रै प्रिन्टआउट बाँड्ने यो शैली यसअघि अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि फर्कँदा पनि अपनाएका थिए ।

ट्रम्पको यो घोषणाको सबैभन्दा विवादास्पद पक्ष ‘स्ट्रेट अफ होर्मुज’ (Strait of Hormuz) को सुरक्षासँग जोडिएको छ। उनले स्पष्ट पार्दै भनेका छन् ‘अब यो जलमार्गको सुरक्षाको नेतृत्व अमेरिकाले गर्ने छैन,’होर्मुज जलडमरूको सुरक्षा र गस्ती अब यो प्रयोग गर्ने अन्य राष्ट्रहरूले गर्नुपर्नेछ — अमेरिकाले होइन!’

यद्यपि अमेरिकाले आवश्यक परेको खण्डमा सहयोग गर्न सक्ने बताए पनि नेतृत्वबाट हात झिक्ने उनको यो अडानले विश्वव्यापी तेल आपूर्तिमा निर्भर रहेका युरोपेली र एसियाली सहयोगी राष्ट्रहरूमाझ चिन्ता र संशय पैदा गरेको छ।

गत फेब्रुअरी २८ बाट सुरु भएको यो सैन्य कारबाही तीन हप्ता पुग्न लाग्दा ट्रम्पले आफूहरू ‘लक्ष्यको नजिक’ पुगेको दाबी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्कालका लागि युद्धविरामको सम्भावनालाई भने अस्वीकार गरे। उनले भने, ‘म युद्धविराम चाहन्न, जब तपाईं अर्को पक्षलाई पूर्ण रूपमा सिध्याउँदै हुनुहुन्छ, तब युद्धविराम गरिँदैन।’

यो नयाँ रणनीतिक मोडले मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थितिको भविष्य र विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने समुद्री व्यापार मार्गको सुरक्षालाई लिएर नयाँ बहस सुरू भएकाे छ।