काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

७ चैत्र २०८२
अ+
अ-

ललितपुर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम आयोगले सात वर्षको अवधिमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका छन्। उनले मुस्लिम समुदायको अधिकार, पहिचान र सशक्तीकरणमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए।

आयोगले आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सव तथा इद मिलन-२०८२ को अवसरमा शनिबार ललितपुरको जावलाखेलमा आयोजना गरेको विशेष समारोहमा उनले यस्तो बताएका हुन्। उनले संविधानले सुनिश्चित गरेको समानता, न्याय र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई मूर्त रूप दिन आयोगले शिक्षा, रोजगारी, महिला सशक्तीकरण, सामाजिक सद्भाव र सांस्कृतिक उत्थानका क्षेत्रमा उल्लेखनीय काम गरेको बताए। “मुस्लिम समुदायले नेपालको इतिहास, संस्कृति, व्यापार, शिक्षा, कला र सामाजिक सद्भावमा पुर्याएको योगदान अमूल्य छ‚” उनले भने‚ “मुस्लिम आयोगले भविष्यमा अझ उज्ज्वल यात्राको संकल्प लिनुपर्ने आवश्यकता छ।”

उपराष्ट्रपति यादवले मुस्लिम युवाहरूलाई गुणस्तरीय शिक्षा, निजामती सेवा, न्याय सेवा, सेना-प्रहरी तथा कूटनीतिक निकायमा जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए। साथै मुस्लिम महिलालाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम बनाउने कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उनले बताए।

उनले नेपाललाई विविधता र सहअस्तित्वको सुन्दर बगैँचा भएको उल्लेख गर्दै भने, “मुस्लिम समुदायले आफ्नो संस्कृति, परम्परा र विश्वासका फूलहरू फुलाउँदै साझा पहिचानलाई अझ सुगन्धित बनाएको छ।”

मुस्लिम आयोगले समुदायको अधिकार प्रवर्द्धन, क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरी सुखी, समृद्ध र आत्मनिर्भर समुदाय निर्माणमा अग्रणी भूमिका खेलोस् भन्ने शुभेच्छा पनि व्यक्त गरे।