काठमाडौं । इरानको आक्रमणबाट अमेरिकाले प्रयोग गरिरहेका सैन्य अखडाहरूमा करिब ८० करोड डलरको क्षति भएको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरान युद्धबीच सुरुआती दुई हप्तामा उक्त क्षति भएको हो ।
बीबीसी र सेन्टर फर स्टर्याटेजिक एन्ड इन्टरनेसनल स्टडिजको संयुक्त विश्लेषणका अनुसार, यो क्षति पहिले गरिएको अनुमानभन्दा धेरै बढी रहेको र यसले अमेरिकाका लागि युद्धको लागत लगातार बढ्दै गएको संकेत गरेको बताइएको छ ।
कुल क्षतिको ठूलो हिस्सा युद्धको पहिलो हप्तामा इरानले गरेको जवाफी हमलामा भएको रिपोर्टमा उल्लेख छ । अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए ।
सेन्टर फर स्टर्याटेजिक एन्ड इन्टरनेसनल स्टडिजका सल्लाहकार तथा रिपोर्टका सह–लेखक मार्क क्यान्सियनका अनुसार, क्षेत्रमा अमेरिकी अखडाहरूको क्षतिलाई कम आकलन गरिएको र वास्तवमा अझ बढी हुन सक्ने बताइएको छ ।