स्मृति
मृत्यु ‘सेलिब्रेसन’ को विषय होइन, तर बशीर जस्ता महान् सायरको महाप्रस्थान स्मरणीय हुनुपर्छ।
सात संदूकों मे भर कर दफ्न कर दो नफरतें
आज इंसाँ को मोहब्बत की जरुत है बहुत
लम्कीबजारमा द्वन्द्वको रापताप बढिरहेको समय थियो, पहाडबाट मानिसहरू सुरक्षित ओत खोज्दै दिनैजसो मलुवार झरिरहेका थिए।
हाम्रो घरछेउकै बोर्डिङ स्कुल युद्धको साक्षीझैँ ठिंग उभिएको थियो। स्कुल बन्द भए पनि त्यहाँका संरचना जीवित थिए। दैनिकजसो उप्किँदै गएको त्यहाँको रङ र भत्किँदै गएका भित्ताहरूमा मेरो चकचके बाल्यकाल बित्यो।
गाउँमा कहिलेकाहीँ राउटेहरू आफ्नै हातले सिउरिएका कलादार काठका भाँडाहरू बोकेर आउँथे। स्कुलको चौरमा बस्थे/पकाउँथे/खान्थे। कटहरको रुखमुनि आराम गर्थे। पैसा छोए पाप लाग्छ भन्ने विश्वास थियो। कुनै मोह थिएन कागजी नोटसित। हाम्रो घरका दाल र चामलसित उनीहरू आफ्नो कला साट्थे। बारीबाट हरिया तरकारी र काँक्राहरू राम्रै मासिएको एउटा वर्ष आमाले घरमा काठको मुधुस भित्र्याउनुभयो। त्यसको बाहिरी भागमा मैले आफ्नो नाममुनि लेखेँ– कक्षा २, रोल नम्बर ८४।
बाहिर मेरो पहिचान कोरिएको त्यस मुधुसभित्र हिन्दी र उर्दु साहित्यको एउटा सुन्दर संसार थियो। बुबालाई धार्मिक पुस्तक र नज्म/गजलप्रति अगाध प्रेम थियो। जब उहाँ काँधमा पानासोनिक रेडियो घन्काउँदै घर फिर्नुहुन्थ्यो, तब यस्ता किताबहरू झोलाभरि भरेर ल्याउनुहुन्थ्यो। डायरीमा के के कोरिबस्नुहुन्थ्यो। अट्टालीमा बसेर पुस्तकका सेरहरू पढ्नुहुन्थ्यो। ती कसले लेखेका थिए? ती सायरहरू को थिए भन्ने थाहा थिएन। तर, जब पछि ती किताब सुमसुम्याएँ, मैले थाहा पाएँ– बुबाले सुनाउने ती लयबद्ध शब्दहरू बशीरका थिए।
स्कुलमा जवानीका पखेटा पलाउँदै गएका दाइहरूमा मीठो भ्रम, विश्वास र मान्यता थियो– गजल लेखेर केटी पट्याउन सकिन्छ। म स्कुलका सांस्कृतिक कार्यक्रममा टुक्रामिश्रित सायरी सुनाउँथेँ। दाइहरू मलाई गजल लेखिदिन भन्थे। त्यसबेला लभलेटरभन्दा ज्यादा गजल प्रेमपत्रको समय थियो।
समय बित्दै जाँदा पश्चिम नेपाल गजलमय बन्यो। दाइदिदीहरूले गजलमा आफ्ना भावना पोख्न थाले। रेडियोमा दाइदिदीको नाम गुन्जिन थालेपछि मलाई पनि गजलकार बन्ने कटु रहर पलायो र म कापीको शिरमा गजलको टीका लगाएर टुक्का मिलाउन थालेँ।
स्कुलमा जवानीका पखेटा पलाउँदै गएका दाइहरूमा मीठो भ्रम, विश्वास र मान्यता थियो– गजल लेखेर केटी पट्याउन सकिन्छ। म स्कुलका सांस्कृतिक कार्यक्रममा टुक्रामिश्रित सायरी सुनाउँथेँ। दाइहरू मलाई गजल लेखिदिन भन्थे। त्यसबेला लभलेटरभन्दा ज्यादा गजल प्रेमपत्रको समय थियो।
अलि पछि एमपी केयरलेस दाइलगायतसँग चिनजान भयो। उनीहरू लखनउ पुगेर किलोका दरमा हिन्दी गजलका किताब ल्याउँथे। त्यसपछि झन् ज्यादा संगत भयो हिन्दी/उर्दु गजलसँग। मैले बशीर बद्रका अक्षर राम्रोसँग सुमसुम्याएँ।
लोग टुट जातें है एक घर बनानें मे
तुम तरस नहीं खाते बस्तियाँ जलाने में?
हामीलाई घर जलाउने आदत बसिसक्यो। हामीलाई सुकुम्बासी बस्तीमा चलाइएका डोजर सुशासनको अनुपम उदाहरण लाग्छ। तर, कुनै पनि घर चार दिवार र एक छतले बन्दैन। त्यहाँको माटोमा दशकौँको पसिना मिसिएको हुन्छ। सपना र सम्झनाहरू हुन्छन्।

बशीर बद्र। तस्बिर स्रोत : रेडियन्स न्युज
यसको पीडा घर जल्नेहरूलाई थाहा हुन्छ। घर केवल टाउको लुकाउने ओत या भौतिक संरचना होइन। खाँबो, निदाल, मझेरी, भित्ता, कोठा… घर यति मात्रै होइन। घर स्मृतिहरूको समुच्चय हो। दुःख र सुख, हाँसो र रोदन, वेदना र हर्षका अनेकन् गाथाहरूको सम्मिलन हो। घर इतिहास पनि हो, जसका एक एक पृष्ठमा कटु र मृदु भोगाइहरू अभिलिखित हुन्छन्।
१५ फेब्रुअरी १९३५ मा मेरठ (तत्कालीन फैजावाद)को साम्प्रदायिक दंगामा उनले घर गुमाए। उनको आँखैअगाडि घर जल्यो। पाण्डुलिपि र वर्षौंको मिहिनेतले संकलन गरिएका पुस्तकहरू गुमाए। त्यो पीडाबाट उनी जीवनभर मुक्त हुन सके/सकेनन् यो उनकै मनको गर्तमा हराएर गयो, उनले आफ्ना समकालीनसँग भनेका थिए, ‘मैले आफ्नो घर हैन, अतीत जलिरहेको देखेँ।’

श्रीमतीका साथमा बशीर बद्र। तस्बिर स्रोत : युट्युब
सायर निदा फाजलीले भनेका छन्, ‘बशीरले गजललाई जनताको आँगनमा ल्याए, तर त्यही आँगन द्वन्द्वको चपेटामा पर्नेछ भनेर उनले कहिल्यै सोचेका थिएनन्।’
सबै गुमाए पनि बशीरले संसारलाई मानवता सिकाए। युद्ध र क्रान्तिको पनि मर्यादा हुने पाठ पढाए। र, भने–
दुश्मनी जमकर करो, लेकिन ये गुंजाइश रहे
जब कभी हम दोस्त हो जाएँ तो शर्मिंदा न हो।
खासमा बशीर जनताका कवि थिए। भुइँमान्छेका सायर थिए। प्रेमका कवि थिए। उनले सम्भ्रान्त र राजदरबारको मनोरञ्जन बनाइएको गजललाई आममान्छेको कोठासम्म ल्याए। उर्दुमा विद्यावारिधि गरेका उनले आफ्ना सेरमा कहिल्यै प्राज्ञिक बोझ थोपरेनन्। बरु आममानिसले महसुस गर्ने र अपनत्व राख्ने सरल र शक्तिशाली सेर लेखिरहे। उनले यस्ता सरल शब्दहरूमा सेर लेखे, जसलाई उनीभन्दा अघिका गजलकारले ठाडै अस्वीकार गर्थे। अरबी र फारसीका कठिन शब्दको सट्टा सजिला उर्दु शब्दमा ओजिला सेरहरू लेखे। आममानिसको मनोविज्ञान र भोगाइलाई कवितामा लेखे। यहीकारण सम्भवतः गालिबपछि आममानिसमा सबैभन्दा लोकप्रिय सायरमध्ये एक बने उनी।

लेखकहरूका साथमा बशीर बद्र (दायाँबाट दोस्रो अगाडि)। तस्बिर स्रोत : विकिमिडिया कमन्स
उनी आफ्नो लेखनमा कहिले खुंखार विद्रोही जस्ता देखिए, कहिले असल प्रोफेसर त कहिले नाजुक प्रेमी।
उन्ही रास्तों ने जिन पर कभी तुम थे साथ मेरे
मुझे रोक रोक पूछा तिरा हमसफर कहाँ है?
तर, आफैँसँग आशा राखेर फेरि उनी भन्थे।
मुशाफिर हो तुम भी, मुशाफिर है हम भी
किसी मोड पर फिर मुलाकात होगी
बशीर बाल्यकालदेखि नै सेर र सायरीप्रति आकर्षित थिए। ७ कक्षामा पढ्दै गर्दा उनको गजल उसबेलाको चर्चित साहित्यिक पत्रिका निगारमा छापियो। त्यसबेलैदेखि उनले चर्चा कमाए। २० वर्षको हुँदा उनी भारत र पाकिस्तानमा मसहुर भइसकेका थिए।
फारसी, हिन्दी, उर्दु र अंग्रेजी भाषाको राम्रो ज्ञान भएका उनी साहित्यलाई मान्छेको व्यक्तिगत विषय मान्थे। यसको व्याख्या प्रोफेसरले गिदीबाट हैन, पाठकको हृदयबाट हुनुपर्ने उनी मान्दथे। उनीसँग जोडिएको एउटा रोचक किस्सा छ, कतिपयले यसलाई ‘गसिप’ पनि भनेका छन्।

बशीर बद्रद्वारा लिखित पुस्तकहरू। तस्बिर स्रोत : सामाजिक सञ्जाल
बशीर अलिगढ मुस्लिम विश्वविद्यालयका विद्यार्थी थिए। उनको मौखिक परीक्षा थियो। अध्ययनका क्रममा प्रोफेसरले उनलाई एउटा सेरको व्याख्या गर्न लगाए जुन बशीर आफैँले लेखेका थिए। प्रोफेसरलाई यो कुरा थाहा थिएन। बशीरले उक्त सेरबारे जुन व्याख्या गरे, प्रोफेसरलाई चित्त बुझेन र फेल गरिदिए।
नेपालको पछिल्लो राजनीतिक खिचातानीले बशीर जस्ता महान् सायरको महाप्रस्थानबारे यथोचित चर्चा हुन सकेन। उनलाई प्रेम गर्नेहरूले नै पनि उनको महाप्रस्थानमा ख्याल गरेनन् कि!
बशीर सायर जति सरल थिए, त्यति कठिन र बांगोटिंगो थियो उनको जीवन। उनका पिता प्रहरी सेवामा थिए। त्यसैले उनको बाल्यकाल विभिन्न सहरमा बित्यो। कानपुर र इटावामा प्रारम्भिक शिक्षा लिए। हाईस्कुल सकेलगत्तै बुबाको निधन भयो र परिवारको जिम्मेवारी उनको काँधमा आयो। मासिक ८५ रुपैयाँमा प्रहरीको जागिर खान विवश भए।
यद्यपि, उनलाई पढ्ने तीव्र इच्छा थियो। जागिर खाएको धेरै वर्षपछि पुनः पढाइ सुरु गरे। अलिगढ मुस्लिम विश्वविद्यालयबाट बीए, एमए र पीएचडी गरेपछि उनले उर्दुको प्रोफेसरका रूपमा मेरठ कलेजमा काम गरे।

लेखकहरूको साथमा आफ्नै निवासमा बशीर बद्र। तस्बिर : न्युजबिट्स
कोरोनापछि मैले बशीरलाई अझ ज्यादा पढेँ। काठमाडौँका लकडाउनमय दिनहरूमा कुशल न्यौपाने, विलास रोकाया, हेमन्त शिशिरलगायत हामीले बशीरलाई ‘सेलिब्रेट’ गर्यौँ।
खुदा की इतनी बडी काएनात में मैं ने
वश एक शक्सको माँगा मुझे वही न मिला
तुम मोहब्बतको खेल कहते हो?
हम ने बर्बाद जिन्दगी कर ली
शोहरत की बुलन्दी भी पल भरका तमाशा है
जिस डाल पे बैठे हो वो टुट भी सकती है
शर झुकाओगे तो पत्थर देवता हो जाएगा
इतना मत चाहो उसे वो बेवफा हो जाएगा
त्यहीबेला हामीले बशीरको कारुणिक यथार्थ थाहा पायौँ। कुनैबेला उनले आफ्नो संग्रह आमदमा पाठकलाई सम्बोधन गर्दै लेखेका थिए, ‘आजको गजलमा मभन्दा बढी लोकप्रिय कोही छैन र भविष्यमा गजलको जुन नयाँ मोड आउनेछ, त्यो मेरै शब्दको दियालोबाट सुरु हुनेछ।’
जीवनको उत्तरार्ध उनका लागि कठिन समय रह्यो। अल्जाइमर्सबाट ग्रस्त उनलाई आफू महान् सायर भएको पनि थाहा रहेन। जसको उपस्थितिबिना मुसायराहरू मुकम्मल हुन सक्दैनथे, त्यो सायर आफैँ हुँ भन्ने उनलाई याद भएन। जब उनका छोराले उनकै सेर सुनाउँथे, तब उनी रोगी बिछ्यौनाबाटै ताली बजाउँदै भन्थे, ‘यो कसले लेखेको?’
घरों पे नाम थे, नामों के साथ ओहदे थे
बहुत तलाश किया कोई आदमी नहीं मिला
अन्ततः विस्मृतिमै उनको इहलीला समाप्त भयो। २८ मे २०२६ मा १४ वर्ष लामो डिमेन्सियापछि एक महान् सायरको महाप्रस्थान भयो।
बशीर अब भौतिक रूपले हामीमाझ छैनन्। तर, मेरा ती पुराना मुधुसमा उनी अझै जीवित छन्। राउटेले कला भरेका भाँडाहरू जस्तै सरल रूपमा स्मरणीय छन्। मृत्यु सेलिब्रेसनको विषय होइन, तर बशीर जस्ता महान् सायरको महाप्रस्थान स्मरणीय हुनुपर्छ। उनको बिदाइ एउटा शरीरको अन्त्य होइन, एउटा युगको अन्त्य हो। राजनीति साँच्चै फोहोर चिज रहेछ। नेपालको पछिल्लो राजनीतिक खिचातानीले बशीर जस्ता महान् सायरको महाप्रस्थानबारे यथोचित चर्चा हुन सकेन। उनलाई प्रेम गर्नेहरूले नै पनि उनको महाप्रस्थानमा ख्याल गरेनन् कि!
बशीरको यादको उज्यालो त्यति फैलिएन, जति उनी योग्य छन्। उनले भनेका थिए–
उजाले अपनी यादों की हमारे पास रहने दो
नजाने किस गली में जिन्दगी की शाम हो जाए
अलबिदा बशीर साहब!