काठमाडौँ। सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएसकेको र जोखिमयुक्त स्थानमा सुरक्षा निकाय खटाइसकेको जानकारी दिए।
त्यस्तै सरोकारवाला निकायलाई पनि यसअघिको भन्दा अझै प्रभावकारी रूपमा विपद् व्यवस्थापनका खटिन निर्देशन दिइसकेको उनले बताए। उनले जनताको सुरक्षाका लागि आवश्यक परे हेलिकोप्टर परिचालन गर्नेसमेतको योजना रहेको जानकारी दिए।
उनले सडक अवरुद्ध भए तत्कालै खुलाउन सक्ने गरी आवश्यक पूर्वाधारको व्यवस्था भइसकेको पनि उल्लेख गरे। उनले विगतको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन। अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनु आवश्यक छ।”
गृहमन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफल पनि नागरिकको सेवामा खटिन र गलत गर्ने कसैलाई पनि उन्मुक्ति नदिने गरि निर्मम हुन निर्देश गरिएको बताए।
हेलिकोप्टर सयर र राज्यकोषको दुरुपयोगमा रोक
अघिल्ला सरकारका पालामा बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकोप्टरको दुरुपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले वर्तमान सरकारका कुनै पनि मन्त्रीले अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिए। उनले आफू पनि हेलिकोप्टर नचढ्ने घोषणा गरे। “म आफैँ पनि हेलिकोप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छैन‚” उनले भने।
उद्धार कार्य र सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकोप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनले जानकारी दिए।
शून्य मानवीय क्षतिको लक्ष्य
देशका उच्च बाढी-पहिरो जोखिमयुक्त क्षेत्रहरूमा पहिल्यैदेखि तयारी अवस्थामा रहन उनले निर्देश गरे। उनले भने‚ “सबै निकाय एकीकृत टोली (टिम) बनेर काम गर्ने हो भने विपद्मा कसैले पनि ज्यान गुमाउनु पर्दैन। विपद्कै कारण कसैको पनि ज्यान गएको खबर मलाई सुन्नु नपरोस्।”
त्यस्तै प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले मनसुन पूर्वतयारीबारे छलफल भएको जानकारी दिए। उनले यस वर्ष सरदरभन्दा कम वर्षा हुने र वर्षा भए एकै ठाँउमा धेरै वर्षा हुने अनुमान गरिएकाले त्यसैअनुसार तयारी भएको बताए।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तयारी अवस्थामा जुट्न गृहमन्त्रीले निर्देशन दिएको पनि कोइराराले जानकारी दिए।
प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ।
उक्त उच्चस्तरीय बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखका साथै विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता थियो।