काठमाडौँ। काठमाडौँमा पुनरूत्पादनशील कृषि अभ्यासकर्ताहरुको एक दिने भेला सम्पन्न भएको छ। माटोको गुणस्तर सुधार्दै रसायन र विषरहित खेतीपाती अभ्यासमा कृषक र विद्यार्थीलाई जागरुक बनाउन भेला आयोजना गरिएको सचिवालय सदस्य प्रविन भट्टराईले जानकारी दिए।
बिहिबार जावलाखेलको स्टाफ कलेजमा आयोजित भेलामा कृषि नीति विश्लेषक कृष्ण पौडेलले नेपालमा पुनउत्पादनशिल कृषि तथा पर्यवारणीय कृषिको अवस्था, अवसर तथा चुनौतीबारे प्रस्तुति राख्दै दिगो कृषिका लागि रसायन र विषरहित उत्पादनमा जोड दिनुपर्ने बताए।
यस्तै कृषि अनुसन्धान परिषद्मा वरिष्ठ कृषी वैज्ञानिक एवम राष्ट्रिय जीन बैकका प्रमुख बालकृष्ण जोशीले रसायनिक मलको प्रयोगलाई विस्तारै घटाउँदै जैविक मल प्रयोग प्रोत्साहन गर्नुपर्ने बताए। लि–बर्ड संस्थाकी करिश्मा गुरुङले पर्यावरणीय कृषिको मार्गचित्रबारे प्रस्तुती राखिन्।

भेलामा ललितपुर, भक्तपुर, चितवन, सिन्धुली लगायत जिल्लाका २५ जना कृषक, कृषिका विद्यार्थी र प्राध्यापकहरु, अनुसन्धाता र सरोकारवालाहरु सहभागी थिए।
उनीहरुबीच पुनरुत्पादनशील तथा पर्यावरणीय कृषिको वर्तमान अवस्था, अवसर, चुनौती र भावी कार्यदिशाबारे प्रस्तुति, छलफल तथा अनुभव आदानप्रदान गरिएको छ।
यस्तै पुनउत्पादनशील कृषि तथा पर्यवारणीय कृषिसंग सम्बन्धित प्रदर्शनी गरिएको छ। जसमा स्थानीय तथा रैथाने बीउबिजन, दिगो कृषिका अभ्यास झल्किने नमूनाहरू, जानकारीमूलक पोष्टर तथा पर्यवारणीय कृषि अभ्यासहरूसँग सम्बन्धित तत्थ्यांक तथा कला लगायत अन्य जानकारीमुलक सामग्रीहरू प्रदर्शन गरिएका छन्।

खाद्यका लागि कृषि अभियान अन्तर्गत हेफर इन्टरनेशनल नेपाल र फरेष्टएक्सन नेपालले संयुक्त रुपमा भेला आयोजना गरेका हुन्।