६ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। ब्राउनसुगर कारोबारी पक्राउ गर्ने सिलसिलामा प्रहरीले काठमाडौँ ३२‚ बालकुमारीमा गोली चलाएको छ। यसक्रममा तीनजना पक्राउ परेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार शनिबार पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका ५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका ३ का २० वर्षीय नीरजकुमार मण्डल र पर्सा पटेर्वा सुगौली गाउँपालिका ४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया छन्। उनीहरूको साथबाट ३०० ग्राम ब्राउसुगर बरामद भएको रेग्मीले बताए।

उनका अनुसार ब्युरोको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको थियो। यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरी कारोबारीलाई रोक्न खोजेको थियो।

हवाई फायर गर्दासमेत नरोकिएपछि कारोबारीमाथि गोली प्रहार गरिएको रेग्मीले बताए। प्रहरीको गोली लागेर ओझैया घाइते छन्। उनको दाहिने खुट्टामुनि एक गोली लागेको छ। घाइते ओझैयाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यसअघि पनि ओझैया लागुऔषध मुद्दामा तीन वर्ष कैद र एक लाख जरिवानाको सजाय फैसला भएर कारागार चलान भएका व्यक्ति हुन्। उनी १७ पुसमा कैद भुक्तान सकेर छुटेका थिए।

प्रहरीले पक्राउ गरेको ब्राउनसुगर।