काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
अ+
अ-

काठमाडौं। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ। काठमाडौँमा आज (सोमबार) चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो।

चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका हितैषी कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरे। मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह-अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माण हुनेछ।

बायोपिक ‘मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन्। उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए। जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पोको बायोपिक थियो। मिलनले बायोपिक ‘बबी’ र ‘ब्लाइन्ड रक्स’ पनि निर्देशन गरेका थिए।

मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्। यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन्। उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन्।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ। चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ।

चलचित्रमा मदनकृष्णको कलाकारिताका पार्टनर हरिवंशको भूमिका कसले निर्वाह गर्नेछन्, यो भने कौतुहलको विषय छ।

धिमे बाजाले मदनकृष्णलाई स्वागत गर्दै चलचित्र निर्माणको घोषणा गरिएको थियो। माला र खादाले बधाई र शुभकामना दिँदा मदनकृष्ण भावविह्वल भएका थिए। हरिवंशको छेउमा बसेका उनले आँसु थाम्न सकेनन्। हरिवंशले उनलाई बायोपिकका लागि शुभकामना दिएका थिए।

कार्यक्रममा ७६ वर्षीय मदनकृष्णले आफूमाथि बन्न लागेको बायोपिक सिनेमालाई लिएर खुसी व्यक्त गरे। “म एकदमै खुसी छु। दर्शकले मेरो जीवनबारे अझै नजिकबाट बुझ्न पाउनुहुनेछ‚” उनले भने। साथै उनले आफ्नो सफलतामा हरिवंशको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

त्यसैगरी हरिवंशले मदनकृष्णको बायोपिक निर्माण हुनु आफ्ना लागि पनि गर्वको विषय भएको बताए। उनले निर्देशक मिलन चाम्सलाई नेपाली चलचित्र क्षेत्रका साहसी र ऊर्जाशील निर्देशकका रूपमा चित्रित गर्दै चलचित्रले न्यायपूर्ण ढंगले कथा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

“चलचित्रका मुख्य क्याप्टेन निर्देशक नै हुन्। मिलन चाम्स नेपाली चलचित्र क्षेत्रमा असाध्यै आँटिला र जागरिला निर्देशक हुनुहुन्छ। उहाँले यो गम्भीर र महत्त्वपूर्ण कथालाई न्याय दिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ,” उनले भने।

आचार्यले मदनकृष्ण श्रेष्ठको परिवारलाई समेत बधाई दिँदै चलचित्र नेपाली चलचित्र क्षेत्रमा सार्थक र स्मरणीय कृतिका रूपमा स्थापित हुने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली कला क्षेत्रका अत्यन्त सम्मानित व्यक्तित्व भएको उल्लेख गरे। उनले बायोपिक निर्माण आफैँमा चुनौतीपूर्ण कार्य भएको भन्दै कलाकार तथा मेकअप टिमले पनि ठूलो मिहिनेत गर्नुपर्ने बताए।

“नेपाली कलाजगतले जहिले पनि उठेर सम्मान गर्ने र शिर झुकाएर नमन गर्ने व्यक्तित्वहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहुन्छ। बायोपिक बनाउनु आफैँमा चुनौतीपूर्ण काम हो। कलाकारहरूलाई जत्तिकै मेकअप गर्ने साथीहरूलाई पनि कठिन हुनेछ,” उनले भने।

कार्यक्रममा गायिका आनी छोइङले स्वस्ति वाचन गरेकी थिइन्। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन्। लोकप्रिय कलाकार भएकाले मदनकृष्णको बायोपिक प्रतिक्षित बन्ने निश्चित छ।

चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन्। पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन छन्।

भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ छ।